बारले प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न रोक लगायो


बारले प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न रोक लगायो

काठमाडौं २५ कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियसनले सर्वोच्च प्रवेशमा प्रधानन्यायाधीशलाई रोक लगाउने भएकोछ ।

प्रधानन्यायाधीश जबरालाई नेपाल बार एशोसियसनले भोलि (शुक्रबार) सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको हो ।

बिहान १० नबज्दै सर्वोच्चको गेटमा कानून व्यवसायीले धर्ना दिएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय भएको बारले जनाएकोछ ।

नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले सर्वोच्च परिसरमा सम्बोधन गर्दै भोलि (शुक्रबार) प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलन जारी रहने र थप सशक्त बनाउदै लैजाने समेत बार अध्यक्ष श्रेष्ठले बताएकाछन् ।

यसैबीच,नेपाल बार एशोसियशनले (भोली) शुक्रबार बन्दी प्रत्यक्षीकरण लगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने भएको छ ।

बिहीबार सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको विरोधमा शुक्रबार सबै इजलास बहिष्कार गरिने बार एशोसियशनले जनाएको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बिहीबार भएको प्रदर्शनमा बारका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना कानून व्यवसायी घाइते भएको जनाइएको छ ।

कानून व्यवसायीहरुले प्रहरी हस्तक्षेपका बाबजुद सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नै विद्यमान समस्याको निकासका लागि एकमात्र उपाय रहेको बताउँदै आएका छन् ।

बार एशोसियशनले पछिल्लो समय प्रधानन्यायाधीशको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ । बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस गर्न नजाने निर्णय गरेको बारले शुक्रबार भने सबै इजलास बहिष्कार गर्ने भएको हो ।

सर्वोच्च अदालतका अन्य न्यायाधीश पनि प्रधानन्यायाधीश जबराको राजीनामाका लागि दबाब बढाउन बन्दी प्रत्यक्षीकरण बाहेकका इजलास बहिष्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले भने बिहीबार अन्य मुद्दालाई समेत समेटेर इजलास गठन गरेका छन् ।