प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न सकेन बार, आईतबार पनि धर्ना दिइने


प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न सकेन बार, आईतबार पनि धर्ना दिइने

नेपालगन्ज २५ कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियशनले आज (शुक्रबार) सर्वोच्च प्रवेशमा प्रधानन्यायाधीशलाई रोक्न सकेन ।

बारको आह्वानमा कानून व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर, प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट सुटुक्क अदालत प्रवेश गरेका थिए ।

सर्वोच्च र नेपाल बार एसोसिएशसन परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाबीच जबरा मूल गेट छल्दै अर्को गेटबाट कार्यालय छिरेका हुन् ।

बारका पदाधिकारीसहितका वकिलहरूले सर्वोच्चमा छिर्न नदिने भन्दै जबराविरुद्ध नाराबाजी गरिरहेका बेला जबराले अर्को उपाय अपनाएर कडा सुरक्षाबीच सर्वोच्च प्रवेश गरेर नियमित काम समेत गरे । सामान्य अवस्थामा बन्द हुने उक्त ढोकाको प्रयोग गर्दै जबरा भित्र छिरेपछि केही बेर तनाव भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

मूल गेटमा बसेका वकिलहरूले जबरा अर्को ढोकाबाट छिर्ने थाहा पाएपछि वकिलहरू आउन खोजेका थिए । तर, उनीहरुलाई प्रहरीले रोकिदिए । यद्यपि वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध बिहीबार जस्तै चर्का नारा लगाइरहेका छन् ।

यसैबीच, आन्दोलनरत नेपाल बार एशोसियशनले आईतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आईतबार पनि धर्ना दिने बताए ।

आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनले बताए । आईतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै उनले भने, ‘हामी सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिन्छौं ।’