काँग्रेस एक्लै लड्छ, न्यायालयका विषयमा अहिले बोल्न पर्दैन : देउवा


काँग्रेस एक्लै लड्छ, न्यायालयका विषयमा अहिले बोल्न पर्दैन : देउवा

नेपालगन्ज २८ कार्तिक : सत्ताधारी प्रमुख दल नेपाली काँग्रेस आगामी चुनावमा एक्लै लड्ने भएको छ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेस एक्लै लड्ने यसका लागि कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन् ।

‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो,’ आईतबार देउवा निवास बुढानीलकण्ठमा पार्टीको केन्द्रिय समिति बैठकमा उनले यस्तो बताए ।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको स्पष्ट पार्दै चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए ।
पार्टीको केन्द्रिय बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले यसको जवाफ दिएका हुन् ।

गत कार्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो । जसको काँग्रेसका नेताहरूले विरोध जनाउँदै आएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बैठकमा देउवाले राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा उता संयन्त्रले काम नगर्ने बताए ।

यसैबीच, पार्टि केन्द्रिय बैठकमा नेताहरु डा. रामशरण महत र गगन थापाले न्यायपालिकामा भइरहेको घटनाक्रममा काँग्रेस मौन बस्दा झन् क्षति हुने भन्दै यसबारेमा छलफलको माग गरेका थिए ।

तर, देउवाले अहिले त्यो एजेण्डा छैन भन्दै महतलाई रोकेका थिए । उनले समसामयिक विषय एजेण्डामा नराखिएकाले अदालतको विषयमा छलफल गर्न नपर्ने बताएका थिए ।

देउवाको रुलिङकै बीचमा गगन थापाले भने न्यायपालिका ठप्प भएको विषयमा काँग्रेस मौन बस्न नहुने र महाधिवेशनसम्म पर्खिदा काँग्रेसलाई नै क्षति हुने भन्दै काँग्रेस यो विषयबाट भाग्न नहुने बताएका थिए । तर, देउवाले झोक्किदै गगनलाई यो विषयमा अहिले बोल्न पर्दैन भन्दै रोकेका थिए ।