बारले भन्यो–‘प्रधानन्यायाधीशको अपीलमा विश्वास छैन, राजीनामा दिनुस्’


बारले भन्यो–‘प्रधानन्यायाधीशको अपीलमा विश्वास छैन, राजीनामा दिनुस्’

नेपालगन्ज २९ कार्तिक : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अपीलमा विश्वास गर्न नसकिने टिप्पणी गरेको छ ।

आफ्नो राजीनामा माग गर्दै न्यायाधीश र नेपाल बारले आन्दोलन चर्काउँदै गएपछि सोमबार प्रधानन्यायाधीश राणाले एक विज्ञप्ति जारी गर्दै विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्न तयार रहेको बताएका थिए । तर, उनको विश्वास गर्न नसक्ने बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध सर्वोच्चमा सोमबार धर्नामा बसेका कानून व्यवसायीलाई सम्बोधन गर्दै बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाको विश्वास गर्न नसकिने बताउँदै आजै राजीनामा दिन आग्रह गरेका हुन् । ‘प्रधानन्यायाधीशको विश्वास गर्न सकिने अवस्था छैन, बरु आजै राजीनामा दिएर निकास दिनुस्’ श्रेष्ठले भने ।