बाँकेमा बन्दको आंशिक प्रभाव, बन्द गराउँदै हिड्ने ५४ जना पक्राउ


बाँकेमा बन्दको आंशिक प्रभाव, बन्द गराउँदै हिड्ने ५४ जना पक्राउ

बन्दका कारण सुनसान देखिएको रत्नराजमार्गको कारकाँदो चोक । तस्विर: विजय मल्ल /सेतोखरी

नेपालगन्ज ३० कार्तिक : नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध गरेको बन्द बाँकेमा आंशिक प्रभाव परेकोछ ।

बन्दका कारण बाँकेबाट छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आउन सकेनन् । त्यसैगरी, बिद्यालय तथा कलेजहरु बन्द रहेका छन् । यद्यपी निजी लगायतका केही सवारी साधन भने नेपालगन्जमा निर्वाधरुपमा सञ्चालनमा आएकाछन् ।

बन्दका कारण बाँके लगायत देशभरको जनजीवन प्रभावित बने पनि बाँकेको नेपालगन्जका बजार पूर्णरुपमा बन्द भएनन् । बन्दका कारण हुनसक्ने सम्भावित घटनालाई नियन्त्रणमा लिन बाँके प्रहरीले ठूलोमात्रामा सुरक्षाकर्मी तैनाथ गरेकोछ ।

यसैबीच, नेपाल बन्द गराउदैँ सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले नियन्त्रणमा लिएकोछ । नेपालगन्जको औद्योगिक क्षेत्र अगाडिबाट ती कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक क्षेत्र अगाडि बसेर सडकमा गुडिरहेका सवारी साधन रोक्ने र साँचो जबरजस्ति थुत्ने गरेको पाइएपछि प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले साविक पञ्चपुरी नगरपालिका वडा नम्बर–११ सुर्खेत स्थायी ठेगाना भइ हाल जानकी गाउँपालिका वडा नम्बर–३ बस्ने ३३ वर्षिय पुष्कलकुमार माझीलाई नियन्त्रणमा लिइएको बताएको छ।

५४ बन्दकर्ता पक्राउ

अहिलेसम्म प्राप्त रिपोर्टअनुसार बाँकेसहित देशका विभिन्न स्थानबाट गरी विप्लवका ५३ जना नेता÷कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौं प्रहरीका अनुसार बन्द सफल पार्न हिँडिरहेको अवस्थामा महाराजगन्जबाट ३ र साँखुबाट ३ जनालाई नियन्त्रणमा लिइएको छ।

यस्तै पोखरामा पनि बन्द गर्दै हिँड्ने विप्लवका दुई जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवनमा अनेरास्ववियु क्रान्तिकारीका बागमती प्रदेश इन्चार्ज राजन साउदसहितका १० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै तनहुँमा पनि बन्दमा संलग्न विप्लवका ११ कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै इटहरीमा पनि बन्द गराउँदै हिँडका विप्लवका २४ जना कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएकोछ ।