File Photo
नेपालगन्ज २ मंसिर : सर्वाेच्च अदालतमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकोछ । प्रहरीले बल प्रयोग गरेपछि आन्दोलित वकिल र सुरक्षाकर्मीबीच झडप समेत भएको छ । सोक्रममा १० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग्दै विरोध प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरू सर्वाेच्च अदालतको भवनतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी परेको हो ।
सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानून व्यवसायीले प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार तर्फ जान खोजेपछि प्रहरीसँग रोकेको थियो । लामोसमयदेखि आन्दोलित कानून व्यवसायीले सुरक्षा घेरा तोडेर सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार जान अटेर गरेपछि धकेलाधकेल भयो ।
आन्दोलनरत कानून व्यवसायी आक्रमकरुपमा अघि बढेपछि प्रहरीले लाठी प्रहार समेत गरेको थियो । प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत एक दर्जन बढि घाइते भएका छन् । लाठी प्रहारपछि महर्जन बेहोस भएका थिए । उनलाई पानी छम्केर बिउँझाइएको थियो ।
बारले लगातार आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश राणा मूल गेटबाट नभइ महान्यायाधिवक्ताको कार्यालय तर्फको वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् ।