नेपाली काँग्रेस १४ औं महाधिवेशन

सहमति नभएका बाँकेका ४ पालिकामा शान्तिपूर्ण मतादन


सहमति नभएका बाँकेका ४ पालिकामा शान्तिपूर्ण मतादन

नेपालगन्ज १ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यतिबेला बाँकेका ४ वटा पालिकामा मतादन भइरहेकोछ । बाँकेका ८ पालिकामध्ये ४ पालिकामा यसअघि हिजो बुधबार सर्वसम्मत नयाँ नेतृत्व चयन भएको थियो । बाँकी ४ पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको हो ।

बाँकेका नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा सर्वसम्मती नभएपछि मतदान भइरहेको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका सभापति पदमा तीन जना, दुई जनाको उप–सभापति पदमा ६ जना, २ सचिव पदमा ५ जना र २ सह–सचिव पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए । उनका अनुसार सदस्य पदमा ५९ जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिसहित पदाधिकारी पदमा निर्वाचन भएपनि सदस्यमा सर्वसम्मत हुने उनले बताए ।

नेपालगन्जस्थित जिल्ला समन्वय समितिको सभा हलमा यतिबेला मतदान भइरहेकोछ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै कोहलपुर नगरसभापति पदमा २ जना, उप–सभापतिमा ४ जना, सचिवमा ४ र सह–सचिव पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । बाँकी सबै सदस्य पदमा पनि उम्मेदवारी परेको मतदान अधिकृत प्रभाकर भट्टराईले भने–‘शान्तिपूर्ण मतदान भइरहेकोछ ।’

राप्तीसोनारी गाउँपालिका सभापति पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापति पदमा ४ जना, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए । उनले भने –‘खुल्ला सदस्य १८(पुरुष)का लागि २८ जना, ९ जना (महिला) सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ ।’

बैजनाथ गाउँपालिकामा सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापतिमा ४, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिए । पालिका तहमा भइरहेको मतदानपछि आज नै मतगणना गरिनेछ ।