नेपालगन्ज २ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतमा कार्तिक ८ देखि जारी गतिरोध लम्बिँदै गएपछि प्रधानन्यायाधीश जबराले ‘फुलकोर्ट’ बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो एक बजेका लागि प्रधानन्यायाधीशले बैठक बोलाएका छन् ।
बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।
सर्वोच्च अदालतमा आन्दोलनरत १३ न्यायाधीशहरू ‘फुलकोर्ट’ बोलाउन तयार भएका थिए ।
प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।
यसअघि नेपाल बार एसोसियसनले जबरालाई शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिए थियो । तर, बिहीबार बिहान जबरालाई सर्वोच्च प्रवेशमा रोक्न प्रदर्शनमा उत्रिएका कानून व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जन, वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत एक दर्जन बढि घाइते भएका छन् ।