नेपालगन्ज २ मंसिर : सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु समेत बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए ।
बिहीबारको फुल कोर्ट बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ । बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि न्यायाधीशहरुले मुद्दा हेर्ने समझदारी बनेको बताएको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला तानेर मुद्दा हेर्न तयार भएका छन् ।