प्रहरी र कानूनब्यवसायीबीच आज पनि धकेलाधकेल
नेपालगन्ज ३ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग गर्दै ४ हप्तादेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीश आजबाट इजलसामा बस्ने भएकाछन् । बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न लागेका हुन् ।
न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेपछि न्यायाधीशहरु इजलासमा बस्न राजी भएका हुन् । शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन् ।
जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ । शुक्रबारका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन गरिएको छ ।
न्यायाधीश नहकुल सुवेदीका लागि भने एकल इजलास तोकिएको छ । यी सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन, बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा रहेका छन् । शुक्रबार प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् ।
यसअघि बिहीबार झैं आज(शुक्रबार) समेत प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून ब्यवसायी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएकोछ । उक्त धकेलाधकेलमा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारले जनाएकोछ ।
कानून व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच धकेलाधकेल भएको हो । एकछिनको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन् । आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्रको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।