नेपालगन्ज ३ मंसिर : बाँकेको ८ वटा स्थानीय तहमध्ये ४ वटा तहमा नेपाली काँग्रेसको संस्थापन (देउवा) पक्षले कब्जा जमाएकोछ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हालसम्म बाँकेका ४ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका)मा संस्थापन(देउवा) पक्षले जीत निकाल्दै वर्चश्व कायम गरेको हो ।
संस्थापन पक्षले नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा वर्चश्व जमाएको हो । बाँकेका कुल ८ वटा पालिका मध्ये संस्थापन इतर(कोइराला÷पौडेल) पक्षले नरैनापुर र डुडुवा गाउँपालिका मात्र नेतृत्व लिन सफल भएको छ । भने कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा मत परिणाम सार्वजनिक भइसकेको छैन । त्यहाँको मत परिणामको आंकलन गर्न सकिएको छैन ।
नेपालगन्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकामा मतदान प्रक्रियाबाट निर्वाचित गरिएको हो, भने नरैनापुर, डुडुवा, जानकी र खजुरा गाउँपालिकामा निर्विरोध गरिएको हो । चार वटा पालिकामा सभापति बाहेक दुबै पक्षबाट समावेशी पदाधिकारी र सदस्य आएका छन् ।
नेपालगन्ज उपमहानगरमा सभापति सहित संस्थापन पक्षको पुरै प्यानल निर्वाचित भएको छ । संस्थापन पक्षका प्रशान्त विष्ट तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । बैजनाथ गाउँपालिका सभापतिमा पनि संस्थापन पक्षकै देवबहादुर खत्री (केसी) निर्वाचित भए ।
खजुरा गाउँपालिकामा सभापति रमेश सिजालीसहित संस्थापन पक्षले वर्चश्व जमाएको छ । जानकी गाउँपालिकाको सभापतिमा दयाराम यादव (अहिर)सहित अधिकांश पदमा संस्थापन पक्षका निर्वाचित भएका छन् ।
डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित अधिकांस पदमा संस्थापन इतर पक्ष निर्विरोध आएको छ । नरैनापुर गाउँपालिका सभापतिमा संस्थापन इतर पक्षका मेराज अहमद खाँ र पदाधिकारीको केही पदमा संस्थापन पक्षका निर्विरोध भएका छन् ।