नेपालगन्ज ३ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताका लागि आह्वान गरेका छन् ।
बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो । बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए ।
बारले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । आन्दोलनमै रहेका न्यायाधीशहरु इजलास फर्किएकै दिन कानून व्यवसायीलाई प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका हुन् ।
यसअघि विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका थिए । तर, त्यतिबेला बारले वार्तामा नजाने निर्णय गरेको थियो । पुनः बारलाई पत्र नै पठाएर आग्रह गरेपछि के गर्ने ? भन्ने विषयमा छलफल भइरहेको बुझिएकोछ ।
नेपाल बार आन्दोलनका कार्यक्रम तय गर्न अहिले पनि छलफलमा छ । प्रधानन्यायाधीशले पठाएको पत्र बारे अध्यक्ष श्रेष्ठले बैठकमा जानकारी गराएका छन् । तर, बार तत्काल वार्तामा सहभागी हुने पक्षमा नरहेको बुझिएकोछ ।
प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको बुझिएको हो ।