नेपालगन्ज ३ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिकामा संस्थापन(देउवा) पक्षको प्यानल निर्वाचित भएको छ ।
संस्थापन पक्षका भिमबहादुर रानाक्षेत्री आगामी कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । यसअघि नेपाली काँग्रेसले गरेको समायोजनबाट राप्ती सोनारीको सभापतिमा रानाले नै जिम्मेवारी सम्हाल्दै आएका थिए ।
रानाले १ सय मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला÷पौडेल) पक्षका तुलाराम खत्रीले ६९ मत ल्याए । खत्रीले यसअघि गाउँपालिका सचिव भएर जिम्मेवारी सम्हालेका थिए । उपसभापतिमा निर्वाचित भएका संस्थापन पक्षकै धनबहादुर थारुले ९१ र शेरबहादुर घर्तीमगरले ९३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी तेजबहादुर ओलीले ७० र मदन बुढाले ६६ मत ल्याएका छन् ।
यस्तै सचिवमा निर्वाचित भएका संस्थापन पक्षकै सन्तोष चौधरीले १ सय ३ र सुरेशकुमार डाँगीले ९६ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी रुद्रमणि ढकालले ६६ र भोला थारुले ६३ मत प्राप्त गरे ।
यसैगरी सहसचिवमा निर्वाचित भएकी संस्थापन पक्षका तारादेवी बिक र मनोजकुमार बैश्यले समान ९६ मत ल्याए । दुबैका निकटतम प्रतिस्पर्धी मानबहादुर खड्काले ७३ र बिसवी परियारले ६४ मत ल्याएको राप्ती सोनारी गाउँपालिकाका मतदान अधिकृत प्रेम शर्माले जानकारी दिए ।
राप्ती सोनारीमा रहेका कुल १ सय ७४ मतदाता मध्ये बिहीबार सम्पन्न मतदानमा १ सय ७३ मत खसेको थियो । पदाधिकारी बाहेक गाउँपालिका सदस्य लगायत पदको मत गणना कार्य अझै चलिरहेको उनले बताए ।