नेपालगन्ज ५ मंसिर : सरकारले लुम्बिनी प्रदेश र ललितपुर प्रहरी प्रमुखको सरुवा गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको सरुवा गरिएको हो ।
पटक–पटक विवादमा मुछिने गरेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएका छन् । भने प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले बताए ।
प्रबन्ध निर्देशनालयको जिम्मा भने बसन्त लामालाई दिइएको छ । ललितपुर प्रहरी प्रमुख बज्राचार्यलाई प्रहरी मुख्यालय नक्शालमा तानिएको छ । एसएसपी यज्ञविनोद पोखरेललाई ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि पोखरेल प्रहरी प्रधान कार्यालय नक्शालमा थिए ।
यसैबीच, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पदमा १३ जना प्रहरी निरीक्षकलाई बढुवा गरिएकोछ ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार यसरी बढुवा हुनेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ऐनबहादुर मल्लसहित १३ प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गरिएकोछ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल दरबन्दी भएका मल्ल केही महिना अघिमात्र बाँके ट्राफिक प्रहरी प्रमुखका रुपमा बाँके आएका थिए ।
यसअघि मल्ल बाँकेमा ईलाका प्रहरी कार्यालय खजुराखुर्द र वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्जको रुपमा लामो समयसम्म काम गरेका थिए ।
अपराध अनुसन्धान महाशाखामा रहेर उनले कुशल र सक्षम अनुसन्धान अधिकृतको भुमिका निर्वाह गरिसकेका छन् । प्रहरी संगठनभित्र उनी कुशल अनुसन्धान अधिकृतको रुपमा चिनिन्छन् ।
बाँके रहँदासम्म मल्लले आफ्नो जिम्मेवारी सफलतापुर्बक निर्वाह गरेका थिए । मल्ल बाँके आउनुअघि कास्की ट्राफिक प्रमुखका रुपमा कार्यरत रहँदा मल्ललाई उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्मान गरेका थिए ।
जसमा प्रहरी निरीक्षक अनिश कुमार कर्ण, जेसी साह, विजय यादव, केशवकुमार शाह, मनोज कुमार शाही, लोकबहादुर गुरुङ्ग, नविन कुमार अधिकारी, श्यामबहादुर साउद, ऐनबहादुर मल्ल ठकुरी, राजकुमार शाही, राजेश कार्की, परशुराम मल्ल र भरतबहादुर शाहलाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा गरिएकोछ ।