नेपालगन्ज ६ मंसिरः नेपाली काँग्रेस बाँके प्रदेशसभा २ (क) को निर्वाचनमा सभापतिका उम्मेदवार शिवकुमार बर्मा ‘पप्पु’ ज्ञानेन्द्रकुमार चौधरीसंग भारी मतले पराजित भएकाछन् ।
बर्मा भारी मतले मात्र पराजित भएनन् उनको पुरै प्यानलनै पराजित बन्यो । यो संगै बाँके प्रदेशसभा २(क) को सभापतिमा ज्ञानेन्द्रकुमार चौधरीको प्यानल निर्वाचित भएको छ । चौधरीले १३० र उनका निकटतम प्रतिद्वन्दी शिवकुमार बर्माले ८७ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा निर्वाचित भएका मनोजकुमार चौधरीले १२७ र नरबहादुर बोहराले १२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दशरथ चन्दले ८३ र जबर अलि बेहनाले ८१ मत ल्याए । सचिवमा निर्वाचित भएक लक्ष्मण सिंहले १२६ र बेलबहादुर बोहराले ११९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी शोभा घर्ती र श्यामसुन्दर बर्माले समान ८२÷८२ मत ल्याए ।
सहसचिवमा निर्वाचित भएका जयप्रकाश खटिकले १४६ र समसुद्धिन खाँले १२५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी अृमताकुमारी सिंहले ८७ मत प्राप्त गरेको मतदान अधिकृत सुरेशकुमार पर्सेलाले जानकारी दिए । प्रदेश सभा प्रतिनिधीमा पनि चौधरी प्यानलका निर्वाचित भएका छन् ।
नवनिर्वाचित चौधरी जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख पनि हुन् । नेपाली काँग्रेस बाँकेका नेता एवम् लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले चौधरी यसअघि संस्थापन इतर (कोइराला÷पौडेल) पक्षमा रहेपनि प्रदेश सभा क्षेत्रमा सभापतिको उम्मेदवारसँगै संस्थापन (देउवा) पक्षमा आएको बताए ।
चौधरीलाई संस्थापन (देउवा) पक्षले आफ्नो आधिकारिक उम्मेदवार बनाएको र उनको प्यानललाई जिताएको हमालले बताए । ‘ज्ञानेन्द्रकुमार चौधरी हाम्रो आधिकारिक (संस्थापन) उम्मेदवार थिए, उनको प्यानललाई संस्थापन पक्षका हाम्रा सबै साथीहरु लागेर चुनाव जितायौंं, अब हाम्रै टिमबाट पार्टीको राजनीति गर्नेछन्,’ हमालले भने । नवनिर्वाचित सभापति चौधरीले आफुलाई सबैले साथ दिएको बताए । ‘मलाई किशोर दाई, गजेन्द्र दाई, सुरेन्द्र दाई लगायत सबैले साथ दिएर जिताउनु भयो,’ चौधरीले भने ।