जिल्ला प्रशासन कार्यालय बाँकेमा मतदाता नामावली संकलन गरिदैं । तस्विर: विजय मल्ल /सेतोखरी
नेपालगन्ज ६ मंसिर : स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएकोछ । आगामी चैत्र ५ गतेभित्र स्थानीय तहको निर्वाचन गरिनुपर्ने अवस्थामा आयोगले आफ्नो गतिविधि बढाएको हो । निर्वाचन अवधि नजिकिदै जाँदा आयोगले आगामी मंसिर १७ गतेदेखि देशभर एकैपटक मतदाता नामावली संकलन कार्य अघि बढाउँदैछ ।
आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्नेछ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० ईलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली सङ्कलन हुनेछ । हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ ।
आयोगले दुई चरणमा मतदाता नामावली संकलन गर्ने कार्य तालिका तयार पारेको छ । यसका लागि आयोगले सोमाबर एक विज्ञप्ती जारी गर्दै सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न आग्रह गरेकोछ ।
मतदाता ऐनअनुसार १६ वर्ष उमेर पुगेर नागरिकता लिएका व्यक्तिहरुले नाम लेखाउन सक्नेछन् । तर, मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुनेछ । आफ्नो स्थायी बसोबास भन्दा अन्यत्र बसेका व्यक्तिहरुले समेत मतदता नामावली नाम लेखाउन सक्नेछन् । र उनीहरुको नाम सम्बन्धित वडामै कायम रहने गरी पठाइनेछ ।
आयोगको विज्ञप्तीमा अगाडी भनिएको छ, ‘अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ। साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।’
मतदाता नामावली संकलन कार्यमा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । शर्माका अनुसार आउँदो पौष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन भइसक्नेछ ।
२०७७ पौष ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता थिए । अब अभियानबाट थप १० लाख मतदाता थपिने आयोगको अनुमान छ।
आयोगले अभियान सफल बनाउन राजनीतिक दल, तीनै तहका सरकार र नागरिक समाजलाई आह्वानसमेत गरेको छ । ‘यस कार्यमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाज समेतले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन समेत निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ, आयोगले भनेको छ ।