नेपालगन्ज ७ मंसिर : नेपाल एयरलाइन्सको एक जना पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगन्ज अवतरण गरिदिएका छन् ।
पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगन्ज झारेर बिचल्ली पारिएको छ । यो घटना सोमबारको हो । सोमबार नेपाल एयरलाइन्सको ट्विनअटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए ।
त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए ।
जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भनिन्, ‘हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।’
जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर, गन्तव्यमा भने पु¥याइएन ।
पाइलट शेर्पाले जहाजलाई नेपालगन्ज विमानस्थलमा अवतरण गराए ।
किन ?
लाग्न सक्छ, विशेष कारणवस जहाजलाई नेपालगन्ज अवतरण गरिएको हो । तर, वास्तविकता भने त्यस्तो होइन । पाइलट शेर्पाको ड्युटी आवर सकिएका कारण जहाजलाई नेपालगन्ज अवतरण गरिएको रहेछ ।
पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगन्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगन्जमै अवतरण गरिदिएका हुन् ।
निगम स्रोतले भन्यो, ‘पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाजलाई नेपालगन्जमै अवतरण गरिदिए । उनको सनकका कारण रुकुम उडेका यात्रुले सास्ती भयो । यात्रुलाई होेटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी ।’
यता, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइटलको ड्यूटी आवर एवम् मौसमका कारण रुकुम उडेको जहाज नेपालगन्ज अवतरण भएको बताए ।
‘सो जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्नुको कारण पाइलटको ड्यूटी आवर र मौसम पनि थियो,’ उनले भने ।
नेपाल वायु सेवा निगमका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् । आन्तरिक उडानमा नेपाल वायु सेवा निगम सँग दुई वटा मात्र ट्वीनअटर जहाज छन् ।
निगमका अनुसार नेपालगन्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पु¥याइएको छ । -बाह्रखरीबाट