राजमार्ग बन्द गरेर एमाले महाधिवेशन उद्घाटन हुने

सुरक्षाका लागि एआईजीको कमाण्डमा एक हजार प्रहरी परिचालन


राजमार्ग बन्द गरेर एमाले महाधिवेशन उद्घाटन हुने

नेपालगन्ज ८ मंसिर : पूर्वपश्चिम राजमार्ग दिनभर बन्द गरेर नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोह चलाइने भएकोछ । नेकपा एमालेको १० औं महाधिवेशनको अवधिभर सार्वजनिक तथा निजी गाडीहरूलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा समेत रोक लगाइने छ ।

जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाट समारोह पर्सी मंसिर १० गते शुक्रबार नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदै छ । यो दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सञ्चालनमै रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने जानकारी दिए ।

यसैगरी काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने बताए । पूर्वी नेपालतर्फ आउ–जाउ गर्नेहरूले आँपटारी–बाइपास रोड हुँदै यात्रा गर्न सक्ने प्रजिअ तामाङले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ । त्यो दिन मानिसहरूको भिड र पार्किङ व्यवस्थापनलाई अधिकारीहरूले प्रमुख चुनौती मानेका छन् । भिड व्यवस्थापनका लागि गृह मन्त्रालय र छिमेकी जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरिएको प्रजिअ तामाङले बताए ।

यसैबीच, नेकपा (एमाले) को दशौँ महाधिवेशनमा प्रहरी एआईजीको कमाण्डमा एक हजार भन्दा बढि प्रहरी खटाइने भएको छ । एआईजी सहकुलबहादुर थापाको कमाण्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी खटिनेछन् । यसबाहेक सशस्त्र प्रहरीको टोली पनि हुनेछ । सुरक्षामा वागमती प्रदेश प्रहरी, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डीआईजी खटिने र समग्र कमाण्ड एआईजी थापाले गर्ने प्रवक्ता कुँवरले जानकारी दिए ।