नेपालगन्ज ८ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको ३ वटा प्रतिनिधी सभा क्षेत्रमा आज (बुधबार)बाट निर्वाचन कार्यक्रम शुरु भएको छ ।
बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा आज बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम शुरु भएको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारी मनोनयन पश्चात तीन वटै क्षेत्रमा भोली (बिहीबार) मतदान कार्यक्रम सम्पन्न गरिनेछ । निर्वाचनमा खटाउनुअघि तीन वटै क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हिजो(मङ्गलबार) अभिमुखिकरण प्रदान गरियो ।
प्रतिनिधी सभा क्षेत्रको निर्वाचनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधी निर्वाचित हुने सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीले जानकारी दिए ।
बाँकेमा एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जना संघीय महाधिवेशन प्रतिनिधि चुनिनेछन् ।
यसैबीच, बाँकेको क्षेत्र नम्बर १ मा द्विपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ मा संस्थापन समूहबाट अहिलेका क्षेत्रीय सभापति माधवराम खत्री प्रतिष्पर्धामा उत्रिँदैछन् । खत्री तेस्रो पटक सभापति बन्ने दाउमा छन् । संस्थापन इतर समूहले भने युवा नेता पोषण केसीलाई उम्मेदवार बनाउने भएको छ ।
क्षेत्र नम्बर २ मा पार्टी सभापति शेरबहादुर देउबा पक्षीय दुई नेता नै सभापतिमा प्रतिष्पर्धा गर्दैछन् । अहिलेका क्षेत्रीय सभापति रमेशकुमार गुप्ता र नेपाल तरुण दल बाँकेका अध्यक्ष तथा वडा नम्बर १३ का वडा अध्यक्ष विरेन्द्र शाहबीच प्रतिष्पर्धा हुँदैछ ।
नेताहरुका अनुसार क्षेत्र नम्बर ३ मा नक्की खाँ निर्विरोध हुने करिब करिब पक्का जस्तै छ । उनी अहिलेका पनि क्षेत्रीय सभापति हुन् । संस्थापन पक्षका उनी नै फेरि क्षेत्रीय सभापति निर्विरोध हुने बताइन्छ ।