नरैनापुरमा थपियो प्रहरी, दोषिलाई कारबाही गर्छौं: एसपी पौडेल


नरैनापुरमा थपियो प्रहरी, दोषिलाई कारबाही गर्छौं: एसपी पौडेल

नेपालगन्ज: बाँके प्रहरीले नरैनापुरमा प्रहरी संख्या बढाएको छ । गत शुक्रबार भएको नरैनापुर घटनबाट पाठ सिकेको बाँके प्रहरीले थप सर्तकता अपनाउदै प्रहरी संख्या बढाएको हो ।

प्रहरीको संख्या कम हुँदा चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवदिन विकलाई चौकीबाटै थुतेर लैजान भारतीय नागरिक सहित स्थानीयले आक्रमण गरेका थिए ।

घरेलु हाथहथियारसहित आएका भारतीय नागरिक र स्थानीयले प्रहरी चौकीलाई घेराउ गरेका थिए । आक्रोसित भीडले प्रहरीमाथि जाइलागेपछि भीड साम्य पार्न प्रहरीले ६३ राउण्ड हवाई फायर र अश्रुग्यासको सहारामा भीड तितरबितर पारेको थियो । त्यही दिन अनुगमनका लागि नरैनापुर पुगेकी प्रदेश सांसद कृष्णा केसीलाई भीडले घेराबन्दीमा पारेको थियो ।

नेपाली भूमिमा भारतीयद्वारा सांसद कृष्णलाई घेराबन्दीमा पारि प्रहरीमाथि जाइलागेका थिए । उनीहरुको आक्रमणबाट चौकी भित्र राखिएको प्रहरीको गाडी, मोटरसाइकल र वाकीटाकी तोडफोड भएपछि नरैनापुर क्षेत्रको सुरक्षामाथि चासो र चिन्ता गरिएको थियो । प्रदेश सांसद केसीले भोलीपल्ट नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर प्रहरीको संख्या बढाउन आग्रह गरेकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके प्रहरीले त्यस घटनापछि नरैनापुरमा प्रहरी संख्या बढाएको छ । नरैनापुरमा नेपालगन्जको गणबाट प्रहरी थपिएको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । एसपी पौडेलको टोलीले मंगलबार नरैनापुरको स्थलगत निरीक्षण समेत गरेको थियो । नरैनापुरमा पुगेर एसपी पौडेलले शुक्रबारको घटनालाई ठूलो क्षति हुन नदिई शान्त पारेकोमा सबै प्रहरीलाई धन्यवाद समेत दिए । ‘त्यो दिन त्यहाँका प्रहरीले धेरै राम्रो काम गरे । त्यत्रो ठूलो भीडलाई कुनै क्षति नगराई पाखा लगाए,’ एसपी पौडेलले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्छु ।’

जिल्लाको पूर्वी–दक्षिण सीमानामा रहेको नरैनापुरमा प्रहरीका आधा दर्जन कार्यालय छन् । भगवानपुरमा प्रहरी निरीक्षक र नरैनापुरमा सईको कमाण्डमा ईलाका प्रहरी कार्यालय रहेका छन् । सुईया, कालाफाँटा, गंगापुर, लक्ष्मणपुरमा चौकी छन् । प्रहरीको संख्या भने कम रहेको छ । शुक्रबारको घटनापछि गणबाट थप टोली पठाएर राखिएको छ ।

यसैबीच चौकीहरुको स्तरबृद्धि गर्न जिल्लाले अध्ययन थालिसकेको छ । एसपी पौडेलले नरैनापुरमा सुरक्षाको कुनै चिन्ता नरहेको जनाए । ‘अहिले नै थप प्रहरी परिचालन गरेका छौं,’ एसपी पौडेलले भने, ‘आवश्यकता अनुसार संख्या बढाउँछौं ।’ एसपी पौडेलले शुक्रबारको घटनामा प्रहरीको गाडी, मोटरसाइकल तोडफोड गर्नेको खोजी भइरहेको बताए ।

‘घटनामा संलग्नको खोजी भइरहेको छ,’ एसपी पौडेलले भने, ‘त्यसलाई कारबाही गर्छौ ।’ नरैनापुर ठूलो ठाउँ हो । भारतीय सीमासँग जोडिएकाले सधैं सुरक्षा चुनौती रहने गर्दछ । शुक्रबारको घटनापछि जिल्लाको नजर नरैनापुरमा पुगेको छ । कुन–कुन प्रहरी चौकीमा कतिको संख्यामा प्रहरी थप गरि पठाइएको भने उनले जनाएनन् ।

बाँकेको नरैनापुर क्षेत्र लागुऔषध, हातहतियार, मठमन्दिरका दुर्लभ मूर्ती, सिमेन्ट, काठ तस्करीको मुख्य नाकाका रुपमा मानिन्छ ।