शुक्रबार विहान ८ बजे क्षेत्र नम्बर एकको मतगणना
नेपालगन्ज ९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका २ वटा प्रतिनिधी सभा क्षेत्रमा बिहीबार(आज) मतदान भएको छ । क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ मा मतदान भएको हो । क्षेत्र नम्बर २ मा भने कर्मचारीले मतदान प्रक्रिया सुरु गर्दै गर्दा उम्मेदवारबीच सहमती नहुँदा मतदान रोकिएको थियो ।
मतदाताले इच्छाएको ब्यक्तिलाई मतदान गर्न दिने विषयमा सहमती हुन नसकेपछि मतदान कार्य अगाडी बढ्न नसकेको होे । दिनभर सहमतीको प्रयास गरेपनि दुबै पक्षले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि बिहीबारको मतदान स्थगित नै गर्नु परेको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए । एउटा पक्षले मतदाताले इच्छ्याएमा एक जनाले पाँच जनासम्मको मत हाल्न पाउनुपर्ने अडान लिएपछि र अर्को पक्षले त्यो कुरा नमानेपछि विवाद बढेको थियो ।
‘हामीले मतदान प्रक्रिया लगभग सुरु गरिसकेका थियौं, दुबै पक्षलाई मुचुल्कामा हस्ताक्षर गराउन मात्र बाँकी थियो, इच्छ्याएको ब्यक्तिले मतदान गर्ने विषयमा सहमती नभएपछि अबेला भयो र आजलाई मतदान नै स्थगित गर्यौं,’ उनले भने । क्षेत्र नम्बर २ को मतदान केन्द्र स्थानीय भेरी प्राविधिक शिक्षालयमा राखिएको थियो ।
स्थगित भएको मतदान जिल्ला निर्वाचन परिचालन समिति बाँकेले अर्को तालिका दिएपछि मात्र शुक्रबार बिहान सुरु गरिने मतदान अधिकृत गिरीले बताए । ‘जिल्ला निर्वाचन परिचालन समितिको निर्देशन अनुसार मतदान स्थगित गरेका हौं, निर्वाचन परिचालन समितिले अर्को तालिका दिएपछि हामी भोली मतदान गराउँछौं,’ उनले भने ।
यसैबीच, नेपाली काँग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना भोली(शुक्रबार) हुने भएको छ । शुक्रबार विहान ८ बजेदेखि मतगणना सुरु हुने मतदान अधिकृत अधिवक्ता मेहरसिंह खत्रीले बताए ।
क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न आज (बिहीबार) भएको मतदानमा कुल ६०५ मतादाता मध्ये ६०१ मत खसेको छ । ४ जना मतदान गर्न आएनन् । क्षेत्र नम्बर –१ मा वर्तमान सभापति माधवराम खत्री र पोषण केसीबीच प्रतिष्पर्धामा छन् ।