बादशाह कुर्मी काँग्रेस महाधिवेशन प्रतिनिधीमा अत्यधिक मतले विजयी, कुर्मीले आज जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै


बादशाह कुर्मी काँग्रेस महाधिवेशन प्रतिनिधीमा अत्यधिक मतले विजयी, कुर्मीले आज जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै

नेपालगन्ज १० मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँकेको क्षेत्र नम्बर ३ मा भएको निर्वाचनबाट बादशाह कुर्मी काँग्रेस महाधिवेशन प्रतिनिधीमा अत्यधिक मतले विजयी भएकाछन् ।

मतदान अधिकृत विरेन्द्र यादवका अनुसार महाधिवेशन प्रतिनिधी(खुल्ला)तर्फ भएको मतदानमा बादशाहले कुल ३४६ मत प्राप्त गर्दै निर्वाचित भए । कुल ४४६ मतदाता रहेको बाँके क्षेत्र नम्बर–३ मा मतदान हुँदा बादशाहले सबैभन्दा बढि ३४६ मत प्राप्त गरे ।

यसैबीच, महाधिवेशन प्रतिनिधीमा चुनिए संगै कुर्मीले नेपाली काँग्रेस बाँकेको सभापतिमा उम्मेदवारी घोषणा गर्ने भएकाछन् । देउवा प्यानलका नेताका रुपमा परिचित बादशाहले आज(शुक्रबार) दिउँसो साढे एक बजे नेपालगन्जको विपी चोकमा रहेको सुनाखरी रेष्टूँरेण्टमा बाँके काँग्रेस पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

सेतोखरीसंग कुरा गर्दै काँग्रेस बाँकेका प्रभावशाली नेता बादशाहले काँग्रेस बाँकेको नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने बताए । यसका लागि जिल्लाका सम्पूर्ण सञ्चारकर्मीलाई उपस्थितीको लागि समेत उनले आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ मा भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ । निर्विरोध हुन नसकेका पदका लागि बिहीबार भएको मतदान पश्चात रातभर चलेको मत गणना परिणाम शुक्रबार(आज) बिहान सार्वजनिक भएको हो ।

मतदान अधिकृत विरेन्द्र यादवले दिएको जानकारी अनुसार क्षेत्र नम्बर ३ को सचिवमा ज्ञानबहादुर ओली र दिपबहादुर थापा निर्वाचित भएका छन् । ओलीले २६५ र थापाले २१७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कोमलराज सिंह ठकुरीले १०३ र विशाल बहादुर कर्माचार्यले ९८ मत प्राप्त गरे ।

सह–सचिवमा निर्वाचित भएका डम्बरबहादुर रावतले १९८ र राकेशकुमार सोनीले १९४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी दिपककुमार थारुले १०१, प्रेमबहादुर शाहीले ९०, पदमबहादुर मल्लले ८० र सुदिप सेढाईले ७१ मत प्राप्त गरेका छन् ।

महाधिवेशन प्रतिनिधी(खुल्ला)तर्फ नेता बादशाह कुर्मीसहित कपिलदेव शर्मा, कृष्णबहादुर बिक रसाईली, टेकबहादुर खड्का, देवबहादुर खत्री, प्रकाशबहादुर शाही, भावना चौधरी, मेघराज ओली, रामेश्वर कँडेल र लक्ष्मीनारायण शाह निर्वाचित भएको यादवले बताए ।

महाधिवेशन प्रतिनिधी(महिला)मा उमाकुमारी थापा, कमला हमाल, निनुमाया कुँवर र झुपकली मगर निर्वाचित भएका छन् । यस्तै दुखिराम लोनिया (मधेसी), जगदिश प्रसाद हरिजन(दलित), चन्तराम थारु(थारु) पनि महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन् ।

यस्तै क्षेत्रीय कार्यसमिति सदस्य(खुल्ला)तर्फ रामप्यारी यादव, जयाराम कुर्मी, तारामणि अधिकारी, राजन वर्मा, इसरात अहमद खाँ, कृष्णबहादुर चौधरी तथा दिलकुमारी पौडेल(अपांगता) र शिवकुमार कोरी(दलित) मा निर्वाचित भएका छन् ।

क्षेत्रीय कार्यसमिति सदस्य प्रदेश ३ (क)बाट हरिदेवी रावत पनि निर्वाचित भईन् । क्षेत्रीय सदस्य(खस आर्य)मा दुई जनाले बराबर ९१÷९१ मत ल्याएपछि गोला प्रथाबाट झलक शर्मा निर्वाचित भएको मतदान अधिकृत यादवले जानकारी दिएका छन् ।

यसअघि बुधबार भने क्षेत्रीय सभापतिमा नक्की खाँ निर्विरोध निर्वाचित भएका थिए । खाँसहित समानुपातिक तर्फबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधी र प्रदेश ३ (ख) कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।