कोहलपुर १० मंसिर : नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–१ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी संस्थापन (देउवा) पक्षका माधवराम खत्री (ढकाल) लाई ४७ मतले हराउँदै संस्थापन इतर (कोइराला/पौडेल) पक्षका केसी निर्वाचित भएका हुन् ।
कुल ६ सय १ मत खसेकोमा केसीले ३ सय १६ र खत्रीले २ सय ६९ मत प्राप्त गरेको मतदान अधिकृत मेहरसिंह खत्रीले जानकारी दिए ।
यस्तै सचिवमा निर्वाचित भएका संस्थापन इतर पक्षका खुमबहादुर बस्नेतले ३ सय १ र संस्थापन पक्षका जयश्वर पौडेलले २ सय ९० मत पाए । उनका निकटतम प्रतिद्वद्वी बजारु थारु र लालबहादुर रानाले समान २ सय ८० मत ल्याए । यसैगरी सह–सचिवमा निर्वाचित भएका संस्थापन पक्षका दिपेन्द्र उप्रेतीले ३ सय १२ र संस्थापन इतर पक्षका रामबहादुर रावतले २ सय ९० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी देवनारायण काफ्लेले २ सय ८३ र हरिशंकर पाण्डेले २ सय ७० मत प्राप्त गरेका छन् । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीको मत गणना चलिरहेको मतदान अधिकृत खत्रीले जानकारी दिए । क्षेत्रीय सभापतिसहित पदाधिकारीको मत परिणामलाई निर्वाचन टोलीले भर्खरै घोषणा गरेको हो ।
नवनिर्वाचित क्षेत्री सभापति केसीले नेपाल विद्यार्थी संघमा रहेर केही समय राजनीति गरेका थिए ।
उनी २०५० सालमा नेपाल विद्यार्थी संघ बाँकेको जिल्ला सदस्य भए । त्यसपछि उनले पत्रकारिता पेशा अंगाले । करिब दुई दशक रेडियो नेपालमा कार्यरत रहेर पत्रकारिता गरेका उनी नेपाल पत्रकार महासंघको पुर्वमहासचिवको जिम्मेवारीमा पुगेका थिए । नेपाल प्रेस युनियनले केसीलाई पत्रकार महासंघमा दुई पटक केन्द्रिय अध्यक्षको उम्मेदवार बनाएको थियो ।
उनी तत्कालिन सुशील कोइरालाको पालामा पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत भएका थिए । करिब ३ वर्षअघि रेडियो नेपालको जागिर छाडेर पार्टीको सक्रिय राजनीतिमा होमिएका हुन् । उनी बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुमस्थित लौकीका स्थायी बासिन्दा हुन् । केसी २०३२ सालमा जन्मिएका हुन् ।