काँग्रेस बाँकेको आईतबारबाट जिल्ला निर्वाचन शुरु, सोमबार मनोनयन दर्ता


काँग्रेस बाँकेको आईतबारबाट जिल्ला निर्वाचन शुरु, सोमबार मनोनयन दर्ता

नेपालगन्ज ११ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन, जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठक शनिबार (आज) सम्पन्न भएको छ ।

समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले नेपाली काँग्रेस बाँकेको जिल्ला निर्वाचनका विषयमा विभिन्न निर्णय गरेको छ ।

बैठकले आईतबार(भोली) जिल्ला निर्वाचन कार्यक्रम प्रारम्भ गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिए । उक्त बैठकको निर्णय अनुसार आईतबार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारी फाराम वितरण कार्य सुरु गरिने उनले बताए । मतदाता नामावली प्रकाशन र उम्मेदवारी फाराम नेपाली काँग्रेस बाँकेको कार्यालय नेपालगन्जमा गरिनेछ ।

यस्तै सोमबार बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्तासहित सोही दिन बेलुकासम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयन सहितको निर्वाचन कार्यक्रम भने जिल्ला समन्वय समिति बाँकेमा गर्ने निर्वाचन परिचालन समितिले निर्णय गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर १४ गते(मंगलबार) बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गरिनेछ । आईतबार (भोली)सम्म मतदान स्थल तय गरिसक्ने निर्णय बैठकले गरेको सहायक निर्वाचन अधिकृत शाहीले बताए ।

उक्त बैठकमा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत रेवती रमण भट्टराई, समितिका सह–संयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही तथा जिल्ला निर्वाचन परिचालन समितिका सदस्यहरु भोलासिंह हमाल, इश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने, ऋषिराज शर्मा, प्रभाकर भट्टराई, मेहरसिंह खत्री लगायतको उपस्थित रहेको थियो ।