भारतीय नाकाबाट भित्रिन्छ अवैध हतियार ! प्रहरी भन्छ–सीमा क्षेत्रमा विशेष निगरानी बढाएका छौं 

नौ महिनामा १७ विदेशीसहित २३६ जना पक्राउ, रुपन्देही र बाँकेमा भारतीय अपराधी समूहले प्रहरीमाथि नै आक्रमण गरे


भारतीय नाकाबाट भित्रिन्छ अवैध हतियार ! प्रहरी भन्छ–सीमा क्षेत्रमा विशेष निगरानी बढाएका छौं 

काठमाडौं । नेपालमा विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग हुने हतियार भारतीय भूमिबाट नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । प्रहरी अनुसन्धानले साना तथा ठूला हतियार भारतबाट नेपाल भित्रिने गरेको देखाएको हो । खुला सीमानाका कारण भारतबाट सहजै नेपालमा हतियार भित्र्याइने गरेको हो । त्यसमा पनि प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ सँग जोडिएका भारतीय सीमाक्षेत्रबाट हतियार भित्रिने गरेको प्रहरी स्रोत बताउँछ ।

भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग बढ्दो छ ।  प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेल भने पछिल्लो समय हतियारधारी समूह–व्यक्तिसँगै हतियार बरामदमा समेत सफलता प्राप्त गरेको दाबी गर्छन् । 

उनका अनुसार समुदाय–प्रहरी कार्यक्रम लागु भएपछि पछिल्लो नौ महिनामा मात्रै देशभर विभिन्न स्थानबाट अवैध हातहतियारसहित २ सय ४२ जना मानिस पक्राउ परेका छन् ।  पक्राउमध्ये पुरुष २ सय ३६ जना र महिला ६ जना छन् । १७ जना विदेशी नागरिक छन् । यो अवधिमा एलएमजी राइफल १ थान, पोइन्ट टुटु राइफल १ थान, एसएमजी २ थान, एमसिक्स्टीन एटु राइफल १ थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान बरामद गरिएको छ । 

यस्तै रिभल्वर ३ थान, भरुवा बन्दुक १ सय १८ थान गरी जम्मा २ सय १४ थान अवैध हतियार र ६ सय ८० राउण्ड गोली बरामद भएको प्रहरी तथ्याङ्कले देखाउँछ ।  नौ महिनाकै अवधीमा अवैध हातहतियारअन्तर्गत जम्मा १ सय ६५ मुद्दा दर्ता भएका छन् । प्रहरी र सरोकारवाला निकायबीचको सहकार्यले अवैध हातहतियार र यसको जोखिमबारे जनचेतना जगाउन सफल भएपछि अवैध हतियार राखेका व्यक्तिहरू समेतले हतियार प्रहरीमा बुझाएको पोखरेल बताउँछन् । डीआईजी पोखरेलले भने, ‘सूचना नेटवर्कलाई मजबुत पारिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सूचना प्रवाहमा वृद्धि हुन थालेपछि ठूलो मात्रामा अवैध हतियार वरामद भएको हो । कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ भइरहेका छन् ।’                                                 

Kanti Aarogya Hospital Nepalgunj

बरामद भएका हतियारमध्ये पेस्तोल, रिभल्वरको साथै नेपालमै बनेका कटुवा पेस्तोल बढी छन् ।  आपराधिक गिरोहले उपलब्ध गराउने यस्ता हतियारले साना र ठूला संगठित अपराध बढ्दै गएको घटनाक्रमले देखिन्छ ।  प्रहरी अधिकारीका अनुसार अवैध हतियार तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारमा प्रयोग हुँदै आएका छन् । 

अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले देशभरिनै अभियान चलाएको छ । सीमाक्षेत्रमा प्रहरी बढी सक्रिय छ । पछिल्लो एक सातामा रुपन्देही र बाँकेमा भारतीय अपराधी समूहले नेपाल प्रहरीमाथि नै आक्रमण समेत गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानेन्द्र फुँयाल भन्छन्,‘अवैध हतियार नियन्त्रण गर्न रोड सेक्युरिटी चेकप्वाइन्ट कन्सेप्ट ल्याएका छौं । यसअन्तर्गत जनपद र ट्राफिक प्रहरीको संयुक्त जाँच हुन्छ । सीमा नाकालगायत सबै स्थानमा आकस्मिक जाँचलाई बढी प्राथमिकता दिएका छौं ।’ प्रविधिको विकास सँगसँगै साना तथा ठूला संगठित अपराध एवं अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल पनि बढ्दै गएको छ ।-बाह्रखरीबाट