बाँकेमा काँग्रेस सभापति पदमा दौड

देउवा समूहका ४ र कोइराला–पौडेल समूहका एक जना उम्मेदवारका आकांक्षी


देउवा समूहका ४ र कोइराला–पौडेल समूहका एक जना उम्मेदवारका आकांक्षी

नेपालगन्ज १२ गते : नेपाली काँग्रेस बाँकेको जिल्ला निर्वाचन कार्यक्रम आजबाट प्रारम्भ भएकोछ । यसअघि वडा, क्षेत्र, प्रदेश र संघीय महाधिवेशन प्रतिनिधीको निर्वाचन सम्पन्न भइसकेकोछ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नेपाली काँग्रेस बाँकेको जिल्ला निर्वाचन शुरु भएसंगै जिल्ला सभापति पदमा आकांक्षी नेताहरु नेता तथा कार्यकर्ता भेटलाई तिव्रता दिएकाछन् । बाँके काँग्रेसको नयाँ नेतृत्व यही मंसिर १४ गते चुनिदैछ । यसका लागि निर्वाचन कार्यालयले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेकोछ ।

निर्वाचन कार्यतालिका अनुसार आज मंसिर १२ गते पहिलो नामावली प्रकाशन र संसोधन गरिँदैछ । भने भोली मंसिर १३ गते मनोनयन दर्ताको कार्यतालिका तोकिएको छ । अधिवेशनकै पूर्वसन्ध्यामा नेपाली काँग्रेस बाँकेको भावि सभापति को बन्ने भन्दै जिल्लाका प्रभावशाली नेता तथा सभापति पदका आंकाक्षिहरुलाई उम्मेदवार टुंग्याउने दबाब बढेकोछ ।

यही दवाब र महाधिवेशनको रस्साकस्सीका बीच नेपाली काँग्रेस बाँकेको भावि सभापतिमा ५ जना नेता सभापति पदमा आकांक्षी देखिएकाछन् । नेपाली काँग्रेस बाँकेको सभापतिमा संस्थापन (देउवा समूह) का ४ र संस्थापन इतर (कोइराला–पौडेल) समूहका एक जना नेताले उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेस बाँकेका एक नेताका अनुसार बाँकेमा संस्थापनबाट सुरेन्द्र हमाल, बादशाह कुर्मी, राजकुमार बर्मा, निरञ्जनसिंह सिजापति र लक्ष्मीनारायण शाहले काँग्रेस बाँकेको सभापतिमा दाबि गरेकाछन् ।

यद्यपी नेपाली काँग्रेसका नेता एवम् पुर्वसभासद समेत रहेका बादशाह कुर्मीले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस बाँकेको पार्टी सभापतिमा उम्मेदवारी दिने भनेर घोषणा गरिसकेकाछन् । नेता कुर्मीले यही शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी बाँके पार्टी सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमा घोषणा गरेका हुन् ।

उनी काँग्रेस बाँकेको सभापतिमा उम्मेदवारी घोषणा गर्ने पहिलो नेता हुन त्यसपछि सभापति पदमा आकांक्षी कुनै पनि नेताले औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । सोबेला देउवा प्यानलका नेताका रुपमा परिचित बादशाहले सभापति पदका लागि आफु संस्थापन पक्ष(देउवा) बाट सर्वसम्मत रुपमा उम्मेदवार बन्ने ठोकुवा गरेका थिए ।

उम्मेदवारी घोषणा गर्नेक्रममा नेता बादशाहले देउवा पक्षबाट आफू सर्वसम्मत रुपमा उम्मेदवार बन्ने बताइरहँदा देउवा पक्षबाटै बाँकेमा अरु ३ जना आकांक्षी रहेको बाहिरीएपछि यतिबेला सभापति पदमा कसलाई उठाउने भन्ने विषयमा देउवा पक्षमा छलफल भइरहेकोछ ।

नेता कुर्मी शुक्रबार नै बाँके क्षेत्र नम्बर–३ बाट सबैभन्दा बढी मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधी (खुल्लातर्फ) मा निर्वाचित भइसकेका छन् । तर, सभापति पदमा उम्मेदवारी दिने आकांक्षी नेता मध्ये एक राजकुमार बर्माले संघीय निर्वाचन क्षेत्रीय अधिवेशनमा संस्थापन इतर समूहसंग मिलेर संस्थापनकै विरेन्द्र शाहलाई ‘सपोर्ट’ गरेकाले उनको भूमिका के हुन्छ अझैं प्रष्ट छैन ।

यस्तै संस्थापन इतर समुह (कोइराला–पौडेल) समुहबाट नेता नारायण प्रसाद गौडेल काँग्रेस बाँकेको सभापतिमा उम्मेदवारी दिने लगभग पक्कापक्कि भइसकेको ती काँग्रेस नेताले जानकारी दिए । यद्यपी यी आधिकारिकरुपमा सभापति पदको उम्मेदवार बन्ने कुरा बाहिर आउन बाँकी रहेकोछ ।

संस्थापन इतर समूहका सभापतिका उम्मेदवार गौडेलका अनुसार उपसभापतिमा राजकुमार मौर्य, सचिव सुधांशु कोइराला र सहसचिवमा रेणुसिंह यादवको उम्मेदवारी पक्का भएपनि अरु एक–एक जना उपसभापति, सचिव र सहसचिव टुंगिन बाँकी छ । आज नै सबै टुंगिने उनले बताए । उपसभापतिमा गोपालप्रसाद अधिकारीको पनि चर्चा छ । सचिवमा पूर्ण प्रसाद आचार्यको पनि उम्मेदवारी हुन सक्ने बताइएको छ ।

यता संस्थापन (देउवा) समूहमा भने सभापतिकै टुंगो नलागेकाले पदाधिकारीको चर्चा सुनिएको छैन । यद्यपि उपसभापतिमा मेघराज ओली र सचिवमा रुद्रबहादुर ओलीको नाम चर्चामा छ ।

जिल्ला कार्यसमितिमा एक जना सभापति, दुई जना उपसभापति, २ जना सचिव र २ जना सहसचिव रहने व्यवस्था छ । सदस्यमा भने प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुनेछ । उपमहानगरापालिकामा कम्तीमा २ महिलासहित ५ जना, नगरपालिकाबाट १ महिलासहित ३ जना र गाउँपालिकाबाट १ महिलासहित दुई जना तथा क्लष्टर अनुसार सदस्य चुनिनेछन् ।