नेपालगन्ज १४ मंसिर : नेकपा एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली पुनः दोहोरिएकाछन् । १० औं महाधिवेशन अन्तर्गत मंगलबार भएको मतदानमा ओलीले निकटतम प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गरेका हुन् ।
निर्वाचन आयोगद्वारा प्राप्त परिणाम अनुसार ओलीले १८४० मत पाएका छन्, भने रावलले २२० मत पाएका छन् । जम्मा २१५३ मतदातामध्ये २०९६ जनाले मत दिएका थिए । जसमध्ये ३६ जनाले अध्यक्षका कुनै पनि उम्मेदवारलाई मत दिएनन् ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्ष र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । आठौं महाधिवेशनमा उनीहरु दुवै जना सोही पदमा पराजित भएका थिए । आठौंमा उनीहरु दुवै एउटै प्यानलमा थिए । नवौंमा भने फरक–फरक प्यानलबाट निर्वाचन लडेका थिए ।
ओली २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका थिए । त्यतिबेला खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत मात्रै पाएका थिए । २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा भने ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए । त्यतिबेला ओलीले १०५९ मत पाउँदा नेपालले १००३ मत पाएका थिए ।
ओलीले दुईपटक चुनाव लडेका नेताहरु खनाल र नेपाल अहिले पार्टीमा छैनन् । उनीहरुसँग निकट रहेका थुप्रै कार्यकर्ता खनाल–नेपालले गठन गरेको पार्टी एकीकृत समाजवादीमा लागेका छन् । खनाल–नेपालले पार्टी गठन गरेसँगै एमालेमा ओलीको एकछत्र प्रभाव देखिन्छ । जसको पुष्टि अध्यक्षको मत परिणामले पनि गर्छ ।
ओलीले आईतबार राति आफूलाई अध्यक्षमा प्रस्तावित गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको सूची प्रस्ताव गरेका थिए । तर, त्यो प्रक्रियाको आलोचना भएको थियो । साथै विभिन्न पदमा थप उम्मेदवारी परेको थियो । मंगलबार बिहान ४ बजे सुरु भएको मतदान साढे १० बजे सकिएको थियो ।
यस्तै नेकपा एमालेका उपाध्यक्षमा सबै अध्यक्ष ‘ओली प्यानल’का निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ मत ल्याएका छन् ।
यस्तै, युवराज ज्ञवालीले १८४२ तथा रामबहादुर थापा ‘बादल’ले १७६८ मत प्राप्त गरेका छन् । अध्यक्ष ओलीले महाधिवेशनको बन्दशत्रमा भुसालबाहेक शाक्य, पाण्डे, नेम्वाङ, पौडेल, ज्ञवाली र थापाको नाम सर्वसम्मतिका लागि उपाध्यक्षमा प्रस्ताव गरेका थिए । त्यसलाई चुनौती दिँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
२०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा उपमहासचिवमा दुई पदका लागि भएको निर्वाचनमा भुसालले सर्वाधिक मत ल्याएर विजयी भएका थिए । त्यतिबेला दोस्रो भएका विष्णु पौडेल उपाध्यक्ष र तेस्रा भएका शंकर पोखरेल महासचिव भएका छन् । चौथो भएका रघुजी पन्त भने केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । तर, यसपटक उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने पराजित भए । भुसालले ७२५ मत प्राप्त गरे ।