राप्तीसोनारी १६ मंसिर : बाँकेको राप्तीसोनारी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई वडाबाटै परचयपत्र वितरण सुरु गरेको छ । यसअघि गाउँपालिकाको कार्यालयबाट वितरण गरिँदै आएको ज्येष्ठ नागरिक परिचय पत्र गाउँपालिकाले पहिलो पटक वडा कार्यालयबाट वितरण सुरु गरेको हो ।
ज्येष्ठ नागरिक परिचय पत्र वितरण शिविरको आयोजना गरी पहिलो दिन बुधबार वडा नम्बर –१ का ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरेको राप्ती सोनारी गाउँपालिकाले बिहिबार वडा नम्बर– ३ मा वितरण गरिरहेको जनाएको छ ।
राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले वडा नं. १ का ८६ वर्षिय मंगल बादीलाई ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरी औपचारिक रूपमा परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन गरेका थिए ।
परिचयपत्र वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत शाहीले क्षेत्रफलको हिसाबले देशकै ठूलो गाउँपालिका भएकाले दुरदराजका ज्येष्ठ नगारिकलाई पालिकासम्म परिचयपत्र लिन अप्ठ्यारो पर्ने कुरालाई मध्यनजर गरेर सम्बन्धित वडाबाटै परचयपत्र वितरण गरिएको बताए ।
वडाबाटै ज्येष्ठ नागरिकले परिचयपत्र पाएपछि घरदैलामै सिंहदरवार आएको महसुस भएको स्थानीयबासीले बताएका छन् । गाउँपालिकाले सार्वजनिक बिदा र शनिबारको दिन बाहेक अन्य हरेक दिन वडा कार्यालयमा समयमा ज्येष्ठ नागरिक परिचयपत्र लिन आएमा गाउँपालिका भित्र रहेका ६० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिने राप्तीसोनारी गाउँपालिका अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सम्झना दलामीले जानकारी दिइन् ।
ज्येष्ठ नागरिकले आफ्नो उमेर खुल्ने कागजात लिएर स्वयम् उपस्थित भएमा वा नजिकको नातेदार वडाको सिफरिस लिएर आए परिचयपत्र प्रदान गर्न सकिने उनले बताइन ।
वडा नम्बर १ र ३ मा वितरण पश्चात आन्य वडामा मंसिर २० गतेदेखि जेष्ठ नागरिक परिचयपत्र वितरण शिविर सञ्चालन गरिने प्रमुख दलामीले जानकारी दिइन् । पहिलो दिन बुधबार वडा नम्बर– १ मा ५८ जनालाई ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।