काँग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान सुरु, प्रदेश २ मा विवाद मिलाउने प्रयास जरी


काँग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान सुरु, प्रदेश २ मा विवाद मिलाउने प्रयास जरी

नेपालगन्ज १८ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो ।

भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डाक्टर बुद्धबहादुर थापाले जानकारी दिए । निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले पनि मतदान गरिसकेका छन् ।
लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् ।

संस्थापन पक्षबाट संघीय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ ।

यसैबीच, नेपाली काँग्रेसको प्रदेश नेतृत्वका लागि आज ६ वटा प्रदेशमा चुनाव भइरहेकोछ । प्रदेश २ मा भने अधिवेशन हुन सकेको छैन । काँग्रेस प्रदेश निर्वाचन समितिहरुका अनुसार शनिबार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मतदान तोकिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदेश सभापतिका लागि ६ प्रदेशमा १४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश १ मा उद्धव थापा र गुरुराज घिमिरे सभापतिमा भिड्दै छन् । थापा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट र घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भिड्न लागेका हुन् ।

त्यस्तै, बागमतीमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी उम्मेदवार बनेका छन् । देउवा पक्षबाट बानियाँ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट प्रधान र पौडेल पक्षबाट केसी उम्मेदवार छन् । गण्डकीमा अर्जुन जोशी र शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् । जोशी देउवा पक्षबाट र शर्मा पौडेल पक्षबाट उम्मेदवार भएका हुन् ।

यसैगरी, कर्णालीमा ललितजंग शाही, भूपेन्द्रजंग शाही र मोतीराज बम चुनावी मैदानमा छन् । ललितजंग देउवा पक्षबाट, भूपेन्द्रजंग पौडेल पक्ष र बम सिटौला पक्षबाट उम्मेदवार बनेका हुन् ।

यस्तै, सुदूरपश्चिममा वीरबहादुर बलायर र नारायण मिश्र प्रतिस्पर्धामा छन् । बलायर देउवा पक्षबाट र मिश्र पौडेल पक्षका उम्मेदवार हुन् ।

प्रदेश २ मा भने सर्लाहीका केही ठाउँमा प्रतिनिधि छनोट हुन नसकेकाले प्रदेश अधिवेशन सुरु हुन सकेको छैन । विवाद मिलाउने प्रयास भइरहेको प्रदेश अधिवेशन आयोजक कमिटीले जनाएको छ ।