राप्रपाले नयाँ अध्यक्ष आईतबार पाउने


राप्रपाले नयाँ अध्यक्ष आईतबार पाउने

नेपालगन्ज १८ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि यतिबेला मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो ।

भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै ४ घण्टा ढिलो गरि दिउँसो १२ बजेदेखि सुरु भएको हो । निर्वाचन समितिका अनुसार आज राति १० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । राति ११ बजेपछि मतगणना सुरु गरिने र करिब दुई घण्टामा मत परिणाम आउने निर्वाचन समितिले जनाएकोछ ।

पूर्वनिर्धारित समयमै मतदान सुरु हुने आशमा प्रतिनिधिहरु बिहान सात बजेदेखि नै लाइनमा बसेका थिए । तर, मतदान शुरु नहुँदा भोकभोकै लाइनमा बस्नुपरेको गुनासो कतिपय प्रतिनिधिहरुले गरेका छन् । अध्यक्ष पदका प्रत्यासीद्वय कमल थापा र राजेन्द्र लिङ्देनले सुरुमा मतदान गरेर निर्वाचन सुरु गरे । त्यसपछि अन्य प्रतिनिधिहरु पनि मतदानमा सहभागी भएका छन् । निर्वाचनमा अध्यक्षसहित एक सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ । मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

८६ वटा मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । एकजनालाई मतदान गर्न करिब १५ मिनेट लाग्ने अनुमान छ । मतदान सकिएपछि गणना हुनेछ । मतगणनाका लागि करिब दुई घण्टा लाग्ने राप्रपाले जनाएको छ ।

अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् । महाधिवेशनमा देशभरबाट कुल चार हजार ४६९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा यो समाचार तयार पार्दासम्म करिब साढे दुई हजार बढि मत खसिसकेको छ । निर्वाचन समितिका अनुसार आज राति ११ बजेपछि मतगणना सुरु गरिने र करिब दुई घण्टामा मत परिणाम आउने निर्वाचन समितिले जनाएकोछ ।

योसंगै आईतबार राती राप्रपाले नयाँ अध्यक्ष पाउनेछ । यद्यपी कमल वा राजेन्द्रमध्ये राप्रपाको अध्यक्ष को बन्छ भन्ने राप्रपाभित्र नभएर सर्वत्र चासो लिइएकोछ ।