धवलको सर्मथनमा लिङ्देन बने राप्रपा अध्यक्ष

सर्वाधिक मत ल्याउँदै महामन्त्रीमा राणा चुनिए, कमलले हार स्वीकारे


धवलको सर्मथनमा लिङ्देन बने राप्रपा अध्यक्ष

File Photo

नेपालगन्ज १९ मंसिर : नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राप्रपाका नेता डाक्टर धवल शम्सेर राणाको समर्थनमा पार्टी अध्यक्षका लागि उम्मेदवारी दिएका नेता राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा विजयी भएकाछन् । पार्टीको अध्यक्ष पदमा नेपालगन्जका मेयर राणाको समर्थन र साथ पाएका राजेन्द्रले उम्मेदवारी घोषणा गरेका थिए ।

राप्रपाको एकता महाधिवेशन अन्र्तगत हिजो शनिबार मतदान सम्पन्न भएको थियो । मतदान सकिएलगत्तै भएको मतगणनाको अन्तिम परिणाम आज बिहान आएअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन् । कमल थापालाई २ सय २७ मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो । लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए । ४३१ मत बदर भएको थियो ।

यसअघि राणाले अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा जिकिर गर्दै आएका थिए । राणाले अब पार्टीमा नयाँ अनुहार चाहिएको बताउँदै, ‘अब नयाँ अनुहार चाहिएको छ । पार्टीको पुर्नस्थापना गर्ने पनि राजनीतिक माध्यमबाटै नै हो । त्यसको विकल्प छैन । नेतृत्वप्रति विश्वास नगरी राप्रपाले भोट पाउन सक्दैन । हामीले जनताले चाहेको गर्न सकेनौँ । हामीले दण्ड पायौँ । पाइरहेका छौँ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो २ वर्ष हामी बन्धन गरेका छौँ । हामी महाधिवेशनमा छौँ । अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ । अब व्यक्तिको मुख होइन पार्टी र देश हेर्नुपर्छ ।’ नेता राणाले भनेका थिए ‘मैले अगाडि आउने साथीहरूलाई साथ दिन्छु भन्दै आएको थिएँ । अहिले राजेन्द्र लिङदेन अगाडि आउनुभयो । उहाँलाई देशले नै माया गरेको छ । त्यसैले मैले उहाँलाई अध्यक्षका रूपमा अगाडि सार्ने घोषणा गरेको छ ।’ राणाले हिन्दु राष्ट्र पुर्नस्थापना गर्ने पार्टीको एजेण्डा भएको स्पष्ट पार्दै भने–‘यो माटो सुहाउने एजेण्डा हो । गएको निर्वाचनपछि हामी घायल भयौं । अब यहाँबाट तल जाने ठाउँ छैन । अब हामी माथि उठ्नुपर्छ । हाम्रो पार्टी किन माथि उठ्न सकेन भनेर चिन्तन गरेका छौँ ।’

नेता राणाले आफूहरु राजासहितको प्रजातन्त्रको पक्षमा रहेको र हिन्दु राष्ट्रको चाहना गरिएको बताएका थिए ।

थापाले हार स्वीकारे

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन् ।

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन् ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु ।’

खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डाक्टर धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

राप्रपाका अन्य पदमा यी नेता विजयी भए

अध्यक्षमा कमल थापाले चुनाव हारे पनि पदाधिकारीमा भने थापापक्षका अधिकांश उम्मेदवार विजयी भएको निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।

राप्रपामा चार उपाध्यक्षमध्ये तीन जना कमल थापा समूहका विजयी भए । दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २५२१ मत पाए । थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भए । तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी भए ।

महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन् ।

यस्तै तीन महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए । बाँकी दुई जना कमल थापा समूहका विजयी भए । थापा पक्षका भुवन पाठक १७०५ भोट ल्याएर विजयी हुँदा महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाही विजयी भइन् ।

उनले २००८ मत ल्याइन् । महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन् । राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।