काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन : बाँकेबाट देउवा प्यानलका १० नेताको हार

यी बलिया नेता निर्वाचित भए


काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन : बाँकेबाट देउवा प्यानलका १० नेताको हार

काँग्रेसको लुम्बिनी प्रदेश सदस्यमा बाँकेबाट निर्वाचित ७ जना नेता ।

नेपालगन्ज २० मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा २ जना पदाधिकारीसहित बाँकेका १० जना नेता पराजित भए । पराजित हुनेमा सबै संस्थापन(देउवा) पक्षका हुन् ।
काँग्रेसको प्रदेश सभा र प्रतिनिधी सभा क्षेत्रको निर्वाचनसम्म बाँकेमा राम्रै प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु पर्यो ।

बाँकेका कुल ६ वटा प्रदेश सभा मध्ये प्रदेश सभा १ ‘ख’ बाहेक अन्य ५ वटा प्रदेश सभा क्षेत्रमा संस्थापन(देउवा) पक्षको सभापतिसहित कार्यसमिति पदाधिकारी र प्रदेश प्रतिनिधीमा वर्चश्व रहेको थियो । यस्तै बाँकेमा रहेका ३ वटा प्रतिनिधी सभा क्षेत्र मध्ये १ नम्बर बाहेक २ र ३ क्षेत्रमा पनि सभापतिसहित कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधीमा संस्थापन पक्षले बर्चश्व कायम गरेको थियो ।

लुम्बिनी प्रदेशको निर्वाचनका कारण बाँके जिल्लाको निर्वाचन स्थगित भयो । जिल्लाको निर्वाचन स्थगित भएपछि लुम्बिनी प्रदेशको निर्वाचनमा होमिएका बाँकेका देउवा पक्षका सबै नेताहरु पराजित भए । उक्त निर्वाचनमा संस्थापन(देउवा) र संस्थापन इतर(कोइराला पौडेल) पक्षबीच दुई वटा प्यानल बनेको थियो ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा मतदाता संख्या संस्थापन इतर पक्षको धेरै थियो, भने संस्थापन पक्षको संख्या कम थियो । ‘बाँकेमा भएका निर्वाचनमा हामीले राम्रै प्रभाव जमाएका हौं, तर, लुम्बिनीमा हार्नुको मुख्य कारण पहिलो त चुनावी रणनीति र ब्यवस्थापन फितलो हुनु हो, दोस्रो कुरा लुम्बिनीको समग्र मतदाता संख्या जोड्दा हामी कमजोर नै थियौं, त्यसकारण हामीले चुनाव हार्यौें,’ काँग्रेस(देउवा) पक्षका नेता फुलाराम थारुले बताए । प्यानलबाट चुनाव लड्दा धेरैजसो योग्य उम्मेदवार पनि पराजित हुनुपरेको उनी बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

संस्थापन पक्षले लुम्बिनी प्रदेशका लागि बाँकेका २ जनालाई पदाधिकारी र अन्य ८ जनालाई कार्यसमिति सदस्यमा उम्मेदवार बनाएको थियो । संस्थापन पक्षबाट लुम्बिनी प्रदेशको सहमहामन्त्रीको उम्मेदवार बनेका बाँकेका लक्ष्मीनारायण शाह र माया पुन पराजित भए ।

शाहले ६ सय ७६ र पुनले ७ सय ५२ मत ल्याएका छन् । आदीवासी जनजातीतर्फ प्रदेश सदस्यको उम्मेदवार भएका बाँकेका नेता फुलाराम थारु ७ सय ६ मत ल्याएर पराजित भए । (आदीवासी जनजाती) सदस्यमै बाँकेका श्यामबहादुर थापा ६ सय ९ मत ल्याएर पराजित भएका छन् ।

यस्तै प्रदेश सदस्य (मधेसी)मा राजकुमार साहु तेलीले ६ सय ३१ मत ल्याएर पराजित भए । प्रदेश सदस्य महिला (खुल्ला)मा संगिता चौधरीले ६ सय ४५ मत ल्याएर पराजित भइन् । यसैगरी (खस आर्य) सदस्यमा बाँकेकै यमबहादुर खड्का ६ सय ४३ मत ल्याएर पराजित भए ।

त्यस्तै बाँके जिल्लागत प्रदेश सदस्यमा नारायणी रुपाखेती ६ सय ९९ मत ल्याएर पराजित भइन् । उनलाई संस्थापन इतर(कोइराला पौडेल) पक्षकी बाँकेकै दिक्षा कोइरालाले पराजित गरेकी हुन् । यसैगरी बाँके जिल्लागत सदस्यमै तेजेन्द्रबहादुर कँडेल ६ सय ७८ मत ल्याएर पराजित भए ।

कँडेललाई बाँकेकै संस्थापन इतर पक्षका टेकनारायण भुसालले पराजित गरेका हुन् । यस्तै (महिला खुल्ला) सदस्यमा रत्ना राणा ६ सय ६८ मत ल्याएर पराजित भइन् ।

उनलाई बाँकेकै संस्थापन इतर पक्षकी अन्जना पाण्डेले पराजित गरिन् । पराजित भएपछि प्रतिक्रिया दिदै प्रदेश सह–महामन्त्री पदकी उम्मेदवार समेत रहेकी नेतृ पुनले पार्टीको आन्तरिक चुनावमा हारजित सामान्य कुरा भएको बताइन् । चुनाव हारेपनि आफुले सम्मानजनक मत पाएको उनको भनाइ छ ।

बाँकेका यी बलिया नेता काँग्रेसको लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित

महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बाँकेबाट ७ जना सदस्य पदमा निर्वाचित भएका छन् । निर्वाचित हुने सबै नवनिर्वाचित प्रदेश सभापति अमरसिंह पुनले नेतृत्व गरेको संस्थापन इतर (कोइराला/पौडेल) पक्षका हुन् ।

लुम्बिनी प्रदेशको खुल्ला सदस्यमा बाँके निवासी प्रेमबहादुर केसी निर्वाचित भएका छन् । उनले ७ सय ६३ मत प्राप्त गरेका छन् । नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव समेत रहेका केसी नेपाल पत्रकार महासंघ बाँकेको पुर्वअध्यक्ष तथा महासंघको पुर्वकेन्द्रिय सदस्य पनि हुन् ।

यस्तै बाँकेबाट महिला (खुल्ला) सदस्यमा अन्जना पाण्डे निर्वाचित भएकी छन् । उनले ७ सय ९७ मत प्राप्त गरिन् । यसैगरी बाँके जिल्लागत तर्फबाट प्रदेश सदस्यमा टेक नारायण भुसाल ८ सय ३ मत प्राप्त गरी निर्वाचित भएका छन् । बाँके जिल्ला गत सदस्यमै दिक्षा कोईराला ७ सय ७८ मत प्राप्त गरेर निर्वाचित भइन् ।

लुम्बिनी प्रदेशको मुस्लिम सदस्यमा बाँके नरैनापुरका काँग्रेस नेता ईशाक जोलाहा ७ सय ९८ मत प्राप्त गरी निर्वाचित भए । प्रदेश (थारु महिला) कृष्णा सापकोटा चौधरी ७ सय ७६ मत प्राप्त गरेर निर्वाचित भइन् । मधेसी महिलातर्फको प्रदेश सदस्यमा परमेश्वरी पाठक ८ सय १९ मत ल्याएर निर्वाचित भएकी छन् ।