File Photo
नेपालगन्ज २३ मंसिर : यस वर्ष ढिलो गरि बाँकेका किसानसंग धान खरिद गरिदैछ । आगामी मंसिर २६ गतेदेखि बाँकेका किसनसंग धान खरिद गरिन लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग यही मंसिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगन्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।
गत वर्ष बाँके लगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकामा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरिद गर्न लागेको छ । कम्पनीले गत वर्ष भन्दा यस वर्ष ढिला गरी धान खरिद सुरु गर्न लागेको हो ।
सरकारले भदौ महिनामै धानको समर्थन मूल्य तोके पनि दशैँपछिको बेमौसमी वर्षाका कारण खरिद प्रक्रिया ढिला गरी सुरु भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाई छ । बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ ।
कम्पनीले धान बिक्रीका लागि ल्याउने किसानमा सूचना जारी गर्दै भिजेका र मक्किएका धान नल्याउन आग्रह गरेको छ । आवश्यक मापदण्ड निर्धारण गरी किसानका धान खरिद गर्न लागिएको शाखा प्रमुख विष्टले जानकारी दिए ।
यसअघि वर्षामा भिजेको भन्दै बाँकेका किसान सस्तोमा धान बेच्न बाध्य भएका थिए । धानको सिजन सकिएर किसान हिउँदे खेतीको तयारीमा लाग्दासमेत धान खरिदको प्रक्रिया अघि नबढेपछि बाँकेका किसानले सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।
कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले बाँके लगायत देशभरका किसानले ठूलो क्षति ब्यहोरेका छन् । तर, सरकारले तोकेको मूल्य व्यापारीले नदिने र सरकार आफै धान खरिदमा उदासिन बन्दा किसानले सस्तो मूल्यमा धान बेच्न बाध्य भए ।
समयमै नयाँ धान खरिदमा सरकारले उदासिनता देखाउँदा बाँकेका किसान थप मर्कामा परे । जसका कारण किसान निरास हुनुका साथै बेमौसमी बर्षाका कारण क्षति भएर बाँकी रहेको धान सस्तोमा बेचे ।
यो पनि पढ्नुहोस्