एकैमञ्चमा देखिदैँ ओली, प्रचण्ड र माधव
नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन आज (शुक्रबार) देखि काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आयोजित महाधिवेशन तीन दिनसम्म चल्ने छ ।
राजधानीको भृकुटीमण्डपमा दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महाधिवेशनलाई लक्षित गरी कडा सुरक्षा व्यवस्थापन गरिएको छ । जसका लागि नेपाल प्रहरीको पाँच हजार बढी जनशक्ति र ३५० ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको बुझिएकोछ । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।
महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि काँग्रेस नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।
तत्कालीन नेकपाको किचलो र विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् । महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।
यस्तो छ महाधिवेशन कार्यतालिका
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधिको नामावली आज विहान १० बजे प्रकाशन गरिएको छ । उम्मेदवार मनोनयन दर्ता भोलि(शनिबार) बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भोलि(शनिबार) साँझ ५ देखि ७ बजेसम्म हुनेछ । दाबी विरोधउपर निर्णय पनि भोलि(शनिबार) साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि (शनिबार) २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२ः१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका छ ।