२२ जोडीको सामूहिक विवाह


२२ जोडीको सामूहिक विवाह

धनुषा २४ मंसिर : धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।

सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए । विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

विवाह समारोहमा प्रदेश नम्बर–२ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए ।

विश्व हिन्दु परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलीपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन । -रासस