नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशनले जुराएको संयोगले एकैमञ्चमा ३ नेता देखिएकाछन् । तत्कालीन नेकपा भङ्ग भएपछि एकै मञ्चमा नदेखिएका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समारोहमा सहभागी भएका छन् ।
काठमाण्डौंको भृकुटीमण्डपस्थित नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा यी तीन नेता पुगेपछि काँग्रेस महाधिवेशनले एकैमञ्चमा उपस्थित हुने संयोग जुराएको हो ।
ओली र नेपालबीच पाँच महिना र ओली र प्रचण्डबीच एक वर्षयता भेटघाट भएको थिएन । नेकपा विवाद उत्कर्षमा पुग्दा ओली–प्रचण्ड र नेपालबीच दूरी बढेको थियो । ०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपा भङ्ग भयो । तर, एमाले विभाजन रोक्न ओली र नेपालबीच संवाद भएको थियो ।
पाँच महिनाअघि उनीहरुबीच असार २३ गते होटेल मेरियटमा लामो संवाद भएको थियो । तर, सहमति नजुट्दा भदौमा दल विभाजन भएको थियो । असार २३ यता ओली र नेपालबीच संवाद भएको छैन ।
ओली र प्रचण्डबीच ०७७ पुस ५ मा संसद् विघटन अघि भेटवार्ता भएको थियो । ओलीले संसद् विघटन गरेपछि उनीहरूबीच टेलिफोन संवाद भए पनि प्रत्यक्ष भेटघाट भएको छैन । चितवनमा भएको एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने नेपाललाई निम्तो दिइएको थिएन । ओली–प्रचण्ड र नेपाल भेटवार्ता नभएपनि अधिकांश कार्यक्रममा कटाक्ष र जवाफमा उत्रिदै आएका छन् ।