राजाले पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ : माधव नेपाल


राजाले पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ : माधव नेपाल

नेपालगन्ज २४ मंसिर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूवराजा ज्ञानेन्द्रप्रति कडा कटाक्ष ब्यक्त गरेकाछन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष नेपालले राजालाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिए ।

उनले महाधिवेशनलाई सम्बोधन गर्दै भने,–‘राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ । नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।’

उनले राजा र राजसंस्थाप्रति अझ कडा बन्दै भने प्रतिगामी शक्तिले चलखेल गरिरहेकोछ । नदि आफ्नो बेगमा बगिसक्यो यसलाई स्वीकार्नुपर्छ । फेरि पनि ती शक्तिले आफ्नो अस्तित्वलाई स्थापित गर्न खोजे त्यसको प्रतिकार गरिनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपालमा राजतन्त्रको पुनरागमन हुनै नसक्ने बताए । सम्बोधन गर्दै उनले अगाडी थपे, ‘अहिले संकेत राम्रो देखिएको छैन । कालो बादल मडारिन खोजेको देखेको छु ।’

नेपाल भन्दा पहिले बोलेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्रको कुरा उठाएका थिए । लिङ्देनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भने, ‘प्रतिगामीले शीर उठाउने प्रयास नगरोस् । राजाले पनि नयाँ पार्टी खोले हुन्छ । व्यापार गरे हुन्छ ।’

नेता नेपालले राजनीतिक दलहरुले नै राष्ट्रियताको सुरक्षा गर्न सक्ने बताए ।