मधेसको समस्या समाधान नभए ज्वालामुखी जस्तै विस्फोट हुन्छः महन्थ ठाकुर


मधेसको समस्या समाधान नभए ज्वालामुखी जस्तै विस्फोट हुन्छः महन्थ ठाकुर

नेपालगन्ज २४ मंसिर : लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभए मधेस पुनः ज्वालामुखी जस्तै विस्फोट हुने चेतावनी दिएका छन् ।

संविधानप्रति आफूहरुको असन्तुष्टि अझै रहेको ठाकुरको भनाइ थियो। संविधान जारी गर्ने बेलामा भएको आन्दोलनको क्रममा आफ्ना धेरै नेता तथा कार्यकर्ता जेल परेको भन्दै उनीहरु रिहा हुनुपर्ने उनले बताए ।

‘संयुक्त मधेसी मोर्चाले त्यतिबेला पूरै मधेसमा आन्दोलन ग¥यो । तर, हाम्रो सामना लाठी र बन्दुकले हुन थाल्यो । अहिले पनि हाम्रा नेता साथीहरु जेलमा छन् । तारिखमा छन् । हाम्रा सांसद् भारि मतले विजय भएका भए पनि जेलमा छन्’, उनले भने ।

ठाकुरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने धन्यवाद दिए । ‘म केपी ओलीलाई धन्यवाद दिन चाहन्छु । १३९ जना उहाँबाट मुक्त भएका छन् । अहिले पनि हाम्रो समस्याको सम्बोधन चाहन्छौं । समस्यालाई दबाएर समाधान हुँदैन । सम्बोधन नभए ज्वालामुखी जस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रिन बाध्य हुन्छौं’, उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

ठाकुरले पार्टी सिस्टममा पार्टीले सरकार बनाउने भएकाले पार्टीमा स्थिरता रहेन भने सरकार पनि अस्थिर हुने बताए ।

‘सरकारमा स्थिरता नरहँदा सरकारका अंगहरु पनि प्रभावित भइरहन्छ । अहिले संसद्ले काम गरेको छैन । सर्वोच्चको पनि त्यही अवस्था छ । यसले गर्दा जनताको सेवा र न्यायमा असर परिरहेको छ । जुन अदालतले हामीलाई न्याय दिने हो, हाम्रो विवादको छिनोफानो गर्नुपर्ने हो । त्यो आफैं विवादमा फसेको छ’, उनले भने ।