देउवालाई सरकारको नेता बन्न ओलीको सुझाव
नेपालगनज २४ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमा भर्खर–भर्खर पार्टी अध्यक्ष बनेको रापताप देखिएको टिप्पणी गरेका छन् । शुक्रबार नेपाली काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै ओलीले नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन भन्ने सोँच बोकेर हिँडेको भन्दै लिङदेनको आलोचना गरे ।
काँग्रेसकै उद्घाटन सभालाई सम्बोधन गर्दै लिङ्देनले नेताहरु गाउँ जाँदा जनताले ‘कुन चाहिँ चोर आयो’ भनेर भन्ने गरेको बताएका थिए । उक्त अभिव्यक्तिको जवाफ दिँदै ओलीले लिङ्देनमा भर्खर–भर्खर पार्टी अध्यक्ष बनेको रापताप देखिएको बताए ।
‘नागरिकबाट कोही नेता उत्पन्न हुनसक्दैन । हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ?’ ओलीले भने, ‘हुन त भर्खर–भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर–भर्खर सभापति भएको अलि बढी रापताप होला । अलि समयमा ठिकमा आउलान् भन्ने मलाई लाग्छ ।’
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजतन्त्रको पक्षमा बोलेका थिए । त्यसपछि सम्बोधन गरेका ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताए । ओलीले यस्तो रापताप अलि समयपछि सेलाउने पनि टिप्पणी गरे । लिङ्देन मंसिर १९ गते राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै ओलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिए ।
ओलीले नेपाली काँग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो आपत्ति नरहने समेत बताए । काँग्रेसलाई सुझाव दिँदै उनले भने, ‘तर, अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिँडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्रीमात्र होइन, सरकारको नेता हुनुहोस् ।’
उनले राष्ट्रियता, देशको विकास, जनताका हितका पक्षमा नेपाली काँग्रेसलाई एमालेले पनि साथ दिने प्रस्ट पारे । केही साना दललाई भने काँग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता लागेर ‘सँगै जानुपर्छ’ भनिरहेको उनको भनाइ थियो ।
ओलीले आफू काँग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने बताए । उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए ।
‘कसैको कुरामा वादप्रतिवाद केही गरिरहन चाहन्न । म मेरो राजनीति आफ्नै मञ्चहरूमा गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन’, काँग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने ।