के भनेका थिए लिङदेनले ?
नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको भाषणका कारण कम्युनिष्ट नेताहरुलाई पोल्नु पोलेकोछ । पहिलो पटक एकसाथ मञ्चमा उभिएका केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल तीन नेताबीच खासै सौहार्दता देखिएन । उनीहरुले एकअर्कालाई वास्ता समेत गरेनन् । नमस्कार आदानप्रदानसम्म भएन । ओली र प्रचण्डबीच भने एकपटक संवाद भएको देखियो ।
भाषणमा पनि उनीहरूबीच कटाक्ष र घोचपेच नै भयो । तर, एउटा कुरामा भने तीनै नेताको मतो मिलेको देखियो । प्रसंग थियो राजसंस्थाको । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको भाषणविरुद्ध उनीहरू एक ठाउँ उभिए ।
लिङदेनले काँग्रेसको मञ्च उपयोग गर्दै राजसंस्थाको वकालत गरे । उनले नेताहरुलाई जनताले ‘चोर’ को नजरले हेर्न थालेको दावी गरे । फलतः गणतन्त्रवादी नेताहरुका लागि लिङदेनको अभिव्यक्ति ‘गरम मसला’ बन्यो । ओली, प्रचण्ड र नेपाल तीनैजनाले लिङदेनलाई निशाना बनाए । लिङ्देन विरुद्ध हेपाहा र हतोत्साहित हुने अभिब्यक्ति दिए ।
लोकतन्त्र र गणतन्त्रका निम्ति लडेका दलका शीर्ष नेताहरूले लिङदेनको अभिव्यक्ति पचाउन सकेनन् । सबैभन्दा पहिले उनलाई जवाफ दिए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले । नेता नेपाल आफ्नो भाषणको सुरुमै लिङदेनमाथि खनिए । प्रतिगामी तत्वहरुलाई टाउको उठाउन खोजेको भन्दै उनले बगेको खोला फेरि पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए ।
नेपालले भने, ‘अब नेपालका राजतन्त्रको कुनै भविष्य छैन । पूर्वराजाले बरु नयाँ पार्टी खोले हुन्छ । वा, व्यापार गरेर बसे हुन्छ ।’
त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लिङदेनमाथि निशाना साँधे ।
उनले भने, ‘एकजना वक्ताले नेताहरू आए भने गाउँ घरमा चोर आयो भन्छन् भन्नुभएको तपाईंहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ?’
त्यसपछि आफैंले जवाफ दिए, ‘होइन । गलत हो । यो केको निम्ति भनियो ? लोकतन्त्रका लागि संघर्ष गरेका दल र नेतालाई बदनाम गर्न खोजिन्छ भने त्यो निरंकुशता र तानाशाही जन्माउने षडयन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ ।’
प्रचण्डपछि बोलेका एमाले अध्यक्ष ओलीले आफ्नै शैलीमा लिङदेनको अभिव्यक्तिको खिल्ली उडाए । उनले लिङदेनलाई भर्खरै जन्मेको बाच्छोसँग तुलना गरेका थिए ।
ओलीले भने, ‘आजको समयमा पनि जन्मसिद्ध श्रेष्ठताको कुरा कुरा गर्नु आश्चर्यजनक छ । नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्न ?’
लिङदेनको नाम नलिइकन ओलीले भने, ‘केही साथीहरुलाई भर्खर भर्खर अध्यक्ष भएको रापताप हुन सक्छ । भर्खर जन्मेको बाँच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ क्या । अलिक समयमा ठीकमा आउला भन्ने लाग्छ मलाई ।’
‘उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ–नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाच्छो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।’
के भनेका थिए लिङ्देनले ?
लिङदेनले आफ्नो भाषणमा देशको राजनीति लिकबाहिर गएको र जनतामा नेताहरुले आफ्नो विश्वास गुमाएको बताएका थिए ।
उनले भनेका थिए, ‘देशको राजनीति ठीक छैन । राजनीति ठीक लगाउनुपर्ने नेताहरुले हो । तर नेताहरुले पूर्णंरुपमा जनताको विश्वास गुमाएको अवस्था छ । मेरो गाउँतिर आजकाल नेता आउँदा मान्छेले कुन नेता भनेर नाम सम्झिदैनन्, कुन चैं चोर आएछ भनेर भन्छन् ।’ देशको राजनीतिलाई ठीक गर्नका लागि राजसंस्था चाहिने लिङदेनले बताए ।