नेपालगन्ज २५ मंसिर : आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी नदिने भएकाछन् । जारी १४औं महाधिवेशनका सन्दर्भमा शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेका हुन् ।
आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन् । उनका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भए पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेका हुन् । उनले आफ्नोपक्षबाट आफूलाई एकल उम्मेदवार बनाइएमात्रै अघि बढ्ने तयारी गरेका थिए ।
केही दिनअघि आफूपक्षको छलफलमा उनले सबै जना उम्मेदवार हुने भए आफूले राजनीतिबाट सन्यास लिने भावनात्मक अभिव्यक्ति दिएका थिए । उनले शुक्रबारकै उद्घाटन समारोहमा पनि सहभागिता नजनाउने तयारी गरेका थिए । तर, नेताहरुको अनुरोधपछि उनी सहभागी भएका थिए ।
शनिबार बिहानको छलफलमा उनले आफूले राजनीतिबाट सन्यास पनि नलिने र उम्मेदवार पनि नहुने प्रस्ट पारेका हुन् । ‘एक जना मात्रै उम्मेदवार नहुने भएपछि मैले उम्मेदवारी दिन्नँ । राजनीतिबाट पनि सन्यास लिन्नँ,’ पौडेलको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । पौडेल १३ औं महाधिवेशनमा पनि सभापतिका उम्मेदवार थिए । तर, देउवासँग पराजित भएका थिए ।