नेपालगन्ज २५ मंसिर : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया शुरु भएको छ । शनिबार बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण शुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ ।
साढे ११ बजेसम्मको अपडेट अनुसार कल्याण गुरुङले सभापतिसहित २५ जनाभन्दा बढीले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरिसकेका छन् । भने दलित तर्फबाट सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।
साथै, आ–आफ्ना उम्मेदवारको पक्षमा मत माग्ने प्रतिनिधि तथा कार्यकर्ताहरुको भीड पनि बाक्लिँदै गएको छ । आफ्ना उम्मेदवारको ब्यानर तथा पर्चासहित प्रचारप्रसारको क्रम तीव्र पारिएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचन कार्यक्रम अन्तर्गत सम्पूर्ण तयारी पूरा भएको बताए ।
संयोजक घिमिरेले निर्वाचनको समयतालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गरे । उनका अनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आईतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ ।
मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रिय सभागृहमा हुनेछ । पहिलो चरणमा खसेको मतको ५१ प्रतिशत नआए भोलिपल्टै पुनः मतदान हुनेछ । सभापति बाहेकका उम्मेदवारको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुने संयोजक घिमिरेले जानकारी दिए । यसपटक विभिन्न क्लस्टरका २९ वटा मतपत्र रहेको छ ।
मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान शुरु हुने कांग्रेसले जनाएको छ । काँग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
काँग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गएराति नै शुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन पेश गरे ।
यस्तै, कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश गरिन् । बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ । काँग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।
मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यको १० हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको काँग्रेसले जनाएको छ ।