शेखर कोइराला समूहले गरायो उम्मेदवारी दर्ता


शेखर कोइराला समूहले गरायो उम्मेदवारी दर्ता

नेपालगन्ज २५ मंसिर : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शेखर कोइरालाले टिमसहित उम्मेदवारी दर्ता गराएका छन् । उक्त समूहबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार रहेका छन् । त्यस्तै, महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल उम्मेदवार हुनेछन् ।

८ जना सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी, वकिल मियाँलाई अघि सारिएको छ । यसैबीच शेखर प्यानलबाट महामन्त्रीका उम्मेदवार गगन थापाले डाक्टर शेखर कोइरालाको नेतृत्वमा काँग्रेसमा आफूले अपेक्षा गरेको बदलाव ल्याउन सकिने बताएका छन् ।

जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले काम गर्न सहज टिम निर्माण भएको उल्लेख गरेका हुन् ।

उनले भने, ‘डाक्टर शेखर कोइरालाको नेतृत्वमा पार्टी रहँदै गर्दा हामीले जे बदलाव ल्याउन खोजेका छौं, त्यसअनुसार काम गर्न सहज हुन्छ ।’ पार्टीभन्दा बाहिरका मान्छेले पनि हेर्दाखेरि पार्टीको व्यक्तित्व निर्माणमा कोइरालाको नेतृत्वले मद्दत पुग्ने आफूले ठानेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

अन्य नेताहरुका बारेमा टिप्पणी नगर्ने बताउँदै नेपाली काँग्रेसलाई राम्रो बनाउने प्रयासमा मतदाताले सघाउने विश्वास व्यक्त गरे । उनले भने,‘पार्टीमा बदलाव ल्याउने हाम्रो साझा प्रयास रहन्छ। मतदाता साथीहरुले पर्सी आफ्नो निर्णय प्रस्तुत गर्नुहुनेछ ।’