नेपालगन्ज २५ मंसिर : सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २० करोडको लागतमा चुम्लिङटारमा रहेको रिभरसाइड रिसोर्टको क्षमता विस्तार गर्ने भएको छ । रिसोर्टले आउँदो एक वर्ष भित्रै क्लब, बैंक्विट हल, थप वटा कोठासहित क्षमता विस्तार गर्न लागिएको सिद्धार्थका ग्रुपका सीइओ कृष्ण न्यौपानेले बताए ।
‘अहिले हाम्रो दुई विघा क्षेत्रफलमा २६ वटा कोठा, टेन्ट रुम संचालनमा ल्याइरहेका छौं । अहिले पहिलो चरणमा ३० वटा लक्जरियस रुम, रेष्टुरेण्ट, बार सञ्चालनमा ल्याउनेछौं । दोस्रो चरणमा हामीले क्लब, स्पा लगायतका सेवा विस्तार गर्ने योजना बनाएका छौं,’ उनले भने ।
लामो बिदामा भ्रमणमा हिँड्ने आन्तरिक र बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै रिसोर्टको सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए । पछिल्लो समय रिसोर्टमा युवा पुस्ता सँगै विदेशी र कर्पोरेट ग्राहकको सहभागिता उल्लेख्य रहेको उनले बताए ।
कम्पनीको व्यवसायिक योजना अनुसार दुई वर्ष अगाडि नै क्षमता विस्तार गरिने भनिएको रिसोर्टको काम कोभिडका कारण ढिलाइ भएको हो । ‘हामीले दुई वर्ष अगाडि नै रिसोर्टको विस्तार गर्ने योजना बनाएका थियौँ । बैंक लोन पास भइसकेको थियो, कोभिड सुरु भएपछि योजना थाती राख्न बाध्य भएका थियौं,’ उनले भने, ‘तर यो समयमा अध्ययन गर्ने थप अवसर जुटेको थियो । अब छिटै निर्माण कार्य सुरु गर्नेछौं ।’
रिसोर्टले आफ्नो सेवा विस्तार गरेसँगै नाइट स्टे, इभेन्ट, कन्फ्रेन्स लगायत सेवा लिने ग्राहक लाभान्वित हुनेछन् । रिसोर्टले नेपाली पर्यटकलाई मध्यनजर गर्दै मूल्य निर्धारण गर्दै आएको उनले जानकारी दिए । हाल प्रति रात ३५ सय रुपैयाँमा रुम बिक्री गर्दै आएको रिसोर्टले नयाँ लक्जरियस रुम सञ्चालनमा आएसँगै पाँच हजार रुपैयाँ भन्दा कम मूल्य निर्धारण गर्ने उनले बताए ।
‘हाम्रो मुख्य ग्राहक भनेकै आन्तरिक पर्यटक हुन् । जागिर गरेर बचाएको समय र पैसाले नेपाली घुम्ने हुन् । दुःख गरेर घुम्न हिँडेको नेपालीका लागि प्रति रात १० हजारको रुम महंगो हो । ठिक्क पैसा लिएर गुणस्तर सेवा दिनु नै हाम्रो उद्देश्य छ,’ उनले भने ।
उनका अनुसार रिसोर्ट क्षतमा विस्तारका लागि प्रारम्भिक वातावरण परीक्षणको काम भइसकेको छ ।
यसैबीच, कम्पनीअन्तर्गत सुर्खेतमा सञ्चालित ‘सिद्धार्थ रिसोर्ट’ विस्तार गरिएको छ । कम्पनीले केही वर्ष अगाडि खरिद गरेको ‘सानी रिसोर्ट’ लाई विस्तार गरिएको हो ।
आठ कट्ठा जमिनमा २८ कोठा क्षमता रहेको रिसोर्टलाई विस्तार गरेर नयाँ स्विमिङ पुल, बैंक्विट, हेल्थ क्लब सँगै ३४ वटा कोठा थप गरिएको उनले जानकरी दिए । यसका लागि ३० करोड रुपैयाँ लागत रहेको उनले बताए । उनका अनुसार कम्पनीले रिसोर्ट परिसरको क्षेत्रफल विस्तार गर्दै एक बिघा बढी पु¥याएको छ ।