नेपालगन्ज २६ मंसिर : नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशन अन्र्तगत महामन्त्री पदमा ६ जना नेताले उम्मेदवारी दर्ता गराएकाछन् । आज उम्मेदवारी फिर्ता लिने समयअवधि साढे १२ बजेसम्मका लागि तय गरिएको छ ।
यो अवधिमा उम्मेदवारी फिर्ता लिने क्रम चलिरहेकोछ । तर, नेपाली काँग्रेसमा सभापतिपछिको शक्तिशाली मानिने महामन्त्री पदमा उम्मेदवारी दिएका ६ जना नेताले आफ्नो उम्मेदवारी फिर्ता नलिने लगभग तय भएकोछ । यस्तो अवस्थामा २ पदका लागि ६ जना नेताबीच चुनावी प्रतिस्पर्धा हुने पक्का भइसकेकोछ ।
वर्तमान काँग्रेस सभाति शेरबहादुर देउवाको प्यानलबाट डाक्टर प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीमा उठेका छन् भने डाक्टर शेखर कोइरालाको प्यानलबाट डाक्टर मिनेन्द्र रिजाल र गगन थापा उठेका छन् । त्यसैगरी, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यानलबाट डाक्टर राजाराम कार्की महामन्त्रीका उम्मेदवार बनेका छन् ।
महामन्त्री पदका यी ६ जनै उम्मेदवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका नेता हुन् । पीएचडी गरेका डाक्टर महत र डाक्टर रिजाल अध्ययनशील नेता मान्छिन् भने थापा, शर्मा र पौडेलले लोकप्रिय युवा नेताको छवि बनाएका छन् । बागमती प्रदेशका सांसद समेत रहेका अर्का उम्मदेवार डाक्टर कार्की भने राष्ट्रिय राजनीतिमा खासै चर्चामा नआएको नयाँ नाम हो ।
महामन्त्रीमा विशेषतः दुई जना दोस्रो पुस्ताका र ३ जना तेस्रो पुस्ताका नेताबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । महतलाई देउवा टीमको भरोसा छ भने रिजाललाई शेखरको नेतृत्वमा बनेको नयाँ टीमको साथ छ । गगन थापाले आफ्नो लोकप्रियतामाथि कोइराला विरासतको मत बटुलेर जित्ने आशा राखेका छन् । विश्वप्रकाश शर्माले सिंह परिवारको लिगेसी र प्रवक्ता बनेर बनाएको पहिचानलाई आफ्नो मुख्य जितको आधार मानेका छन् ।
यस्तो छ महामन्त्री पदका उम्मेदवारको संक्षिप्त परिचय
डाक्टर प्रकाशशरण महत
प्रकाशशरण कक्षा ७ मा अध्ययनरत रहँदा नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका थिए । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेका डाक्टर महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला २०४० देखि २०४४ सम्म उनी नेविसंघको महामन्त्री थिए ।
नेपाली काँग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डाक्टर महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । २०५५ देखि २०५६ सम्म काँग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका थिए । २०५९ काँग्रेस विभाजनपछि बनेको देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा महत केन्द्रीय सदस्य भएका थिए ।
काँग्रेस प्रजातान्त्रिकको ११ औं, काँग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका थिए । देउवाले ०७५ मा महतलाई पार्टीको सहमहामन्त्रीको जिम्मेवारी दिए । २०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा संसदीय राजनीतिको यात्रा आरम्भ गरेका थिए ।
०६४ भएको पहिलो संविधान सभामा र ०७० मा भएको दोस्रो संविधान सभामा महतले सांसद थिए । सरकारले २०५५ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिव भएका थिए । २०५८ मा देउवा प्रधानमन्त्री हुँदा महत प्रधानमन्त्रीको सल्लाहकार भएका महत राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।
२०६१ मा परराष्ट्र राज्य मन्त्री भएका महत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य भएका थिए । उनले विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यका रुपमा पनि काम गरेका थिए ।
२०६६ ऊर्जा मन्त्री भएका उनी ०७३ मा परराष्ट्र मन्त्री बनेका थिए । महतले अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गरेका छन् ।
अमेरिकाको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरेका महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । देउवाका विश्वास पात्र महत काँग्रेसभित्र देश विदेश बुझेका नेतामा पर्छन् ।
डाक्टर मिनेन्द्र रिजाल
डाक्टर मिनेन्द्र रिजालले नेपाली राजनीतिमा बौद्धिक नेताको छवि बनाएका छन् । अर्थशास्त्र र राजनीतिमा गहिरो अध्ययन गरेका नेता रिजालले अमेरिकाबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । न्यूयोर्क युनिभर्सिटीबाट स्टाटिस्टिक एण्ड अपरेसन्स रिसर्चमा मास्टर्स अफ फिलोसोफी गरेका डा. रिजालले न्यूयोर्क युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट मास्टर्स अफ बिजिनेस एड्मिन्स्ट्रेसनमा युनिभर्सिटी टपेका थिए ।
नेपालको त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्तम अङ्कसहित एमबीए, कानुनमा स्नातक र विज्ञानमा स्नातक गरेका उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका पनि थिए । विसं. २०२६ सालमा धरानको जनता हाइस्कुलको विद्यार्थी युनियनको निर्वाचनबाट विद्यार्थी राजनीतिमा सहभागी भएका मोरङका रिजाल २०६६ सालमा माधवकुमार नेपालको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । उनले संघीय एवं संसदीय मामिला मन्त्रालयको समेत अनुभव सँगालेका छन् । २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री भएका उनी अहिले रक्षामन्त्रीका रुपमा तेस्रो पटक सरकारमा सहभागी छन् ।
डाक्टर रिजाल विमलेन्द्र निधि नेविसंघको सभापति हुँदा केन्द्रीय उपाध्यक्ष थिए । उनी अन्तरिम व्यवस्थापिको सांसद हुँदै पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद थिए । डाक्टर रिजालले संविधानसभा २०७० मा संविधान मस्यौदा समितिको सदस्य भएर काम गरे ।
गत आम चुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ओली सरकारको निगरानी गर्न काँग्रेसद्वारा गठित छायाँ सरकारमा अर्थमन्त्रीको भूमिकामा रहेका उनी अहिले रक्षा मन्त्रालयको जिम्मेवारीमा छन् ।
देउवा २०५३ मा प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बनेका रिजाल काँग्रेस विभाजित हुँदा देउवाकै साथमा थिए । काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा उनी तत्कालीन संस्थापन पक्षमा जोडिए र केन्द्रीय सदस्य पनि भए । प्रतिनिधि सभाका सांसदसमेत रहेका रिजालले ओली सरकारका पालामा संसदमा पनि बलियो उपस्थिति र पहिचान बनाएका छन् । उनले यसपटक महामन्त्री बनेपछि अर्को महाधिवेशनमा पदाधिकारीमा दाबी नगर्ने र सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।
विश्वप्रकाश शर्मा
प्रकाशमानको टिमबाट महामन्त्रीमा उठेका विश्वप्रकाश शर्मा ६ पुस ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका हुन् । उनी ०३७ सालमा झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।
२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भए ।
२०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । नेविसंघको राजनीतिपछि शर्मा पार्टीको जिल्ला राजनीतिमा जाने प्रयास गरे । तर १२ औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भए । २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । शर्मा २०७४ सालमा नेपाली काँग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने । प्रवक्ता भएर शर्माले उदहारणीय क गर्न सफल भएका थिए । शर्माको संसदीय राजीनिति भने विर्सन लायक छ ।
उनी ०७० र ७४ माम भएको आम चुनावमा झापामाम पराजित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका शर्मा राजनीतिसँगै समाजिक विषयको गहिरो अध्ययन राख्छन् । शर्माको व्यक्तित्व बहुआयमिक छ ।
गगन थापा
गगन थापा नेपाली राजनीतिमा परिचित नाम हो । कक्षा ९ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सक्रिय उनको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी काँग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने ।
२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सहभागिता रह्यो । उनी नेविसंघको महामन्त्री बने । थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । ०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए ।
संसद र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो । ०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले– माओवादी)को लहरले पनि थापाको संसद यात्रामा ब्रेक लाउन सकेन । उनी काठमाडौं–४ बाट निर्वाचित भए ।
उनी काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । गगन १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए ।
महामन्त्रीमा पराजित भए पनि थापाले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक भने उनी कोइराला परिवारको लिगेसीसँग आफूलाई जोडेर महाधिवेशनको मैदानमा उत्रिएका छन् ।
प्रदीप पौडेल
सिटौलाको समर्थनमा देउवा प्यानलबाट महामन्त्रीमा उठेका पौडेलको जन्म तनहुँको कोलम्फेमा ०३१ सालमा भएको हो । पौडेलले सिद्धार्थ वनस्थली अमृत साइन्स क्याम्पसबाट नेविसंघको राजनीति थालेका थिए । अमृत साइन्स क्याम्पसमा इकाइ अध्यक्ष हुँदै २०५३ मा उनी स्ववियु सभापतिमा निर्वाचित भए । सो निर्वाचनमा नेविसंघले सभापतिमा मात्रै जितेको थियो ।
२०५५ मा नेविसंघको केन्द्रीय सदस्यमा मनोनित पौडेललाई २०५७ मा विश्वप्रकाश शर्माले सहमहामन्त्रीमा मनोनित गरेका थिए । त्यसपछि गुरु घिमिरेले पौडेललाई उपाध्यक्षमा मनोनित गरेका थिए । २०६१ र २०६२ मा उनी फेरि मनोनित उपाध्यक्ष भए । २०६४ सालमा भने नेविसंघको केन्द्रीय सभापति भए । २०६७ भएको काँग्रेसको १२ औं महाधिवेशनमा पौडेल केन्द्रीय सदस्यमा पराजित भए ।
तत्कालीन पार्टी सभापति सुशील कोइराला २०७१ मा भने पौडेललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । त्यसपछि २०७२ सालको १३ औं महाधिवेशनमा खुल्लातर्फबाट छैटौँ भएर केन्द्रीय सदस्य जितेका थिए । उनी काँग्रेभित्र १३ औं महाधिवेशनबाट उदायको कृष्णप्रसाद सिटौला नेतृत्वको समूहमा थिए ।
२०७४ मा तनहुँबाट प्रदेशसभा सदस्यमा पराजित भएका थिए । पौडेलले त्रिचन्द्र क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तह गरेका छन् । युवामाझ लोकप्रिय नेता पौडेल नेविसंघको संगठनमा बलियो पकड भएका नेता हुन् ।
डाक्टर राजाराम कार्की
धादिङमा जन्मिएका डाक्टर राजाराम कार्की पनि महामन्त्रीमा उठेका छन् । उनी विमलेन्द्र निधिको निकट मानिन्छन् । लामो समय विद्यार्थी राजनीति गरेका कार्की २०२९ सालमा भैरवी हाइस्कुल नेविसंघ इकाइ सभापति भएका थिए । २०३० सालमा नेविसंघ धादिङको सभापति भएका कार्कीले ०३६ साल, ४२ साल, ०४६ सालको आन्दोलनमा सक्रिय भूमिका खेले । नेपाली काँग्रेसको पूर्वकेन्द्रीय सदस्य एवं तरुण दलको पूर्वमहासचिव भएका उनी बागमती प्रदेशका सांसदसमेत छन् ।
धादिङबाट महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य रहेका कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । देउवा पक्षबाट विमलेन्द्र निधिले विद्रोह गरेर सभापतिको दौडमा निस्किएपछि कार्की पनि जोडिन पुगेका हुन् ।
यी ६ नेता मध्ये महामन्त्रीमा कुनै २ नेता चुनिने छन् नै आ–आफ्ना विगत र वर्तमान राजनीतिक क्षवि बनाएका नेताबीच कडा प्रतिस्प्रर्धा हुने निश्चितछ । आम सर्वसाधरणलाई समेत काँग्रेस महामन्त्रीमा कसले बाजी मार्छ भन्ने कौतुहुलता र चासो बढेकैछ । यस्तै महाधिवेशनमा सहभागि प्रतिनिधीहरुलाई समेत आफ्नो मतको सदुपयोग गरि आफ्ना नेता जिताउन वा भनौ नयाँ महामन्त्री चयन गर्न दबाव सिर्जना भएकोछ ।
यता महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा सिंहसँग जोडिए पनि उनको प्रचार भने देउवा पक्षबाटै भइरहेको छ । देउवा पक्षका नेताहरुले समेत शर्मालाई मत मागिरहेको पाइन्छ । देउवाको प्यानलबाट महामन्त्रीमा उठेका प्रदीप पौडेलले युवा पंक्तिको साथ र देउवा टीमको इमान्दारितासँग आफ्नो जित खोजिरहेको देखिन्छ । कृष्णप्रसाद सिटौलाले भने आफ्नो राजनीति नै पौडेलमाथि सुम्पेको अवस्था छ ।
पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने सर्तमा सिटौला काँग्रेसको केन्द्रीय कार्यसमिति बाहिर बस्न तयार भएका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी