देशैभरि काँग्रेसलाई जिताउन सभापतिमा मलाई जिताउनुस् : देउवा

पार्टीको नेतृत्वका लागि देउवाको विकल्प छैन : सिटौला


देशैभरि काँग्रेसलाई जिताउन सभापतिमा मलाई जिताउनुस् : देउवा

नेपालगन्ज २६ मंसिर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशैभरि काँग्रेसलाई जिताउन पुनः सभापतिमा आफूलाई जिताउन आग्रह गरेकाछन् । जारी महाधिवेशनबाट आफू पुनः सभापतिमा निर्वाचित भए तीन तहमै सरकार बनाउने गरी काँग्रेसलाई जिताउने देउवाले दाबी गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय तहमा काँग्रेसको सरकार बनाउने गरी निर्वाचन जिताउन लाग्ने दाबी गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका उनले यो शेरबहादुरको मात्र कुरा नभएर प्रजातन्त्र र पार्टी बचाउने कुरा भएको बताए । बलियो पार्टी बनाउन जरुरी भएकाले आफूले पुनः सभापतिमा उम्मेदवारी दिएको बताए ।

पार्टीलाई अझै सशक्त बनाएर कम्युनिस्टहरुसँग लड्न आफू सक्षम रहेकोले त्यसका लागि सभापतिको उम्मेदवार आफू भएको उनले दाबी गरे । ‘केपी शर्मा ओलीको शासनकालमा कस्तो डर त्रासमा बाँच्नुपरेको थियो ? भोलि पनि त्यस्तै शासन आउनसक्छ,’ उनले भने, ‘कुनै पनि हालतमा कम्युनिस्टहरुको शासनबाट मुक्त गर्ने मेरो प्रयास हो ।’ उनले महाधिवेशनमा निष्पक्ष निर्वाचन हुने भएकाले ढुक्क भएर आफूले चाहेको उम्मेदवारलाई मत दिन उनले आग्रह गरे ।

‘नेपाली काँग्रेसलाई फेरि पनि केन्द्र, प्रदेश र स्थानीय सरकारमा ल्याउन म सफल हुन्छु भन्ने विश्वास छ,’ उनले भने, ‘अहिले धेरै ठाउँमा कम्युनिस्टका सरकार बदल्न हामी सफल भएका छौं ।’ प्रजातन्त्र बचाउने काममा काँग्रेस सधैँ अघि बढेको भन्दै उनले अब पनि अघि बढ्ने बता ए। उनले भोलि हुने निर्वाचनमा सक्रिय सहभागी हुँदै आफूलाई जिताउन आह्वान गर्दै त्यसपछि गाउँ–गाउँदेखि सबै ठाउँमा काँग्रेस विजयी गराउने आफ्नो जिम्मेवारी भएको दाबी गरे । ‘म पार्टी सभापति हारे भने सरकारका पनि अप्ठ्यारो हुन्छ,’ उनले भने, ‘हाम्रो पार्टीमा सभापति नै प्रधानमन्त्री हुने भएकाले म माथि नैतिक दबाब बढाइनेछ ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले सरकार र काँग्रेसलाई सक्रिय बनाउन पनि आफू दोस्रो पटकका लागि सभापति हुनुपर्ने उनले दाबी गरे ।

यसैबीच, नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् । आईतबार एक कार्यक्रममा महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै सिटौलाले चाँडै नै तीनै तहको निर्वाचन हुने भन्दै निर्वाचनमा जानका लागि सभापतिमा जितेको प्रधानमन्त्री लिएर उच्च मनोबलका साथ जानुपर्ने खाँचो औंल्याए ।

आन्तरिक व्यवस्थापन गर्न नसक्दा विगतमा पनि काँग्रेसले पराजय व्यहोरेको चर्चा गर्दै सिटौलाले कम्युनिस्ट पार्टीभित्रको कलहले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएको र काँग्रेसले अहिले अवसर प्राप्त गरेको बताए । उनले आगामी निर्वाचनसम्म देउवा नेतृत्वकै सरकार टिक्नुपर्ने खाँचो पनि औंल्याए ।

‘अहिलेको सरकार रहेमात्र धाँधलीरहित निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘वामपन्थीले गृह मन्त्रालय पाउँदा २०५४ सालमा के अवस्था आएको थियो भन्ने हामीलाई राम्रोसँग थाहा छ । त्यसैले यो सरकार जोगाएर निर्वाचनमा पुग्नु पर्छ ।’

उनले महाधिवेशन प्रतिनिधिलाई प्रश्न गरे, ‘सभापति पदमा हारेको प्रधानमन्त्री बोकेर निर्वाचनमा जाने कि सभापति जितेको प्रधानमन्त्री बोकेर जाने ? नेपाली काँग्रेस पार्टीको, लोकतान्त्रिक व्यवस्थाको कुरा गर्दै छु म । निर्वाचनमा पार्टीलाई जिताउन उच्च मनोबल भएको प्रधानमन्त्री चाहिन्छ ।’

सभापति पदमा पराजित गरेको प्रधानमन्त्री लिएर निर्वाचनमा जाँदा मतदातामा मनोवैज्ञानिक असर पर्ने भन्दै उनले देउवालाई सभापतिमा निरन्तरता दिने आवश्यक रहेको बताए । उनले भने, ‘दुई कार्यकाल सभापति बन्न पाउने व्यवस्था विधानले नै गरेको छ, त्यसैले देउवालाई नै एक पटक फेरि सघाउँ भन्ने मलाई लागेको हो ।’

आफूले देउवालाई सडकमै बसेर भए पनि तपाईलाई समर्थन गर्छु भनेको पनि उनले बताए । उनले भने, ‘देउवाको टीममा परिपक्व नेता पनि छन्, युवा नेता पनि छन् ।’