समयमै मतपत्र नछाप्दा काँग्रेसको मतदान कार्यतालिका प्रभावित
नेपालगन्ज २७ मंसिर : नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदान सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान पौने ४ घण्टा ढिलो गरि सुरु भएको हो । यसअघि साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका रहेपनि ढिला गरी सुरु भएकाले केही समय थपिन सक्ने जनाइएको छ ।
बुथमा खटिने उमेदवारका प्रतिनिधिको टुंगो नलागेको र केही आवश्यक तयारी पूरा नहुँदा मतदान समयमै सुरु हुन नसकेको निर्वाचन समितिका पदाधिकारीले बताउदै आएपनि वास्तविकता भने फरक छ ।
समयमै मतपत्र छाप्न नसक्दा नेपाली काँग्रेसको मतदान कार्यतालिका प्रभावित भएको हो । बिहानैदेखि महाधिवेशन प्रनिनिधिहरू मतदान गर्न लाइनमा बसिसके पनि मतपत्र आउन ढिलाइ भएका कारण मतदान कार्यक्रम ढिलो गरि सुरु भएको हो ।
निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मतपत्र नौ बजे छापिएर मतदानस्थलमा आएको छ । ढिलो गरि आएको मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर गरिसकेपछि मतदान शुरु भयो ।
काँग्रेसको निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएका छन् । बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन् । मतदान शुरु नभएपनि प्रदर्शनीमार्गमा यतिबेला काँग्रेसको उत्सव चलिरहेको छ ।
सभापति, महामन्त्री लगायत विभिन्न पदाधिकारी र सदस्यका उमेदवार मत माग्न व्यस्त छन् । काँग्रेसको १४ औं महाधिवशेनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिको सिफारिसमा मनोनयन हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खस र आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।