काँग्रेस निर्वाचन : ४६७९ मत खस्यो, सभापतिको मतगणना हुँदै


काँग्रेस निर्वाचन : ४६७९ मत खस्यो, सभापतिको मतगणना हुँदै

नेपालगन्ज २८ मंसिर : नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भएको मतदानमा ४६७९ मत खसेको छ ।

काँग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले कुल ४ हजार ७४३ मतदातामध्ये ४६७९ मत खसेको जानकारी दिए । उनले ६४ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएको पनि बताए ।

निर्वाचन समितिका अनुसार आईतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । मतपत्र छपाई गरि आउन ढिलो भएपछि तीपटक मतदानका लागि समय अवधि थपिएको थियो ।

राति १ बजेदेखि सभापतिको मतगणना शुरु गर्ने निर्वाचन समितिको तयारी छ । सभापतिको मतगणना मतदान भएकैस्थल राष्ट्रियसभा गृहमा हुनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन समितिले मंगलबार बिहानसम्म सभापतिको नतिजा आइसक्ने बताएको छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना पार्टी कार्यालयमा सुरु हुनेछ ।

यसैबीच, काँग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

नेपाली काँग्रेसको सभापतिमा पहिलो चरणमै जित्न अर्थात ५० प्रतिशत कटाउन ५ जनामध्ये एक उम्मेदवारले २३४० मत प्राप्त गर्नुपर्ने देखिएको छ ।

कुल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ जनाले मत दिएका छन् । खसेको मतको ५० प्रतिशत कटाउन सभापति उम्मेदवारले २३४० मत पाउनुपर्छ ।

सभापतिका उम्मेदवार शेरवहादुर देउवा, डाक्टर शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ कसैले पनि २३४० मत कटाउन नसकेमा दोस्रो चरणमा दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।