नेपाली काँग्रेसको १४ औं महाधिवेशन

सभापतिका लागि दोस्रो चरणको निर्वाचन आजै हुने


सभापतिका लागि दोस्रो चरणको निर्वाचन आजै हुने

नेपालगन्ज २८ मंसिर: नेपाली काँग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो ।

मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ । काँग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

सभापति पदका लागि सोमबार भएको मतदान नतिजाविहीन बनेपछि पुनः मतदान हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन सकेनन् ।

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हाँसिल गरेका डाक्टर शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २५० मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २२ मत पाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली काँग्रेसमा शेरबहादुर देउवाको विकल्पमा नयाँ नेतृत्व आउनुपर्ने बताइरहेका प्रकाशमान, विमलेन्द्र निधि र कल्याण गुरुङले पाएको मतसमेत जोड्दा देउवाको भन्दा बढी हुन जान्छ । तर, देउवाको विकल्प खोज्नेहरुले साझा उम्मदेवार नउठाएका कारण पहिलो चरणमा कसैले पनि जित हात पार्न नसकेको हो ।

दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसकेका छन्, भने प्रकाशमानले के गर्छन् भन्ने अझै खुलेको छैन । तथापि उनले मत माग्ने बेलामा नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन हुनेपर्नेमा जोड दिएका थिए ।