नेपालगन्ज २९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको मतगणना आज (बुधबार) साँझदेखि शुरु भएकोछ । सभापति तर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना शुरु गरिएको हो ।
राजधानीको प्रदर्शनीमार्गमा सोमबार भएको मतदानको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ, भने सो मतपेटिका बुधबार बेलुकादेखि खोलेर गणना गर्न शुरु गरिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार मतगणनाका लागि आज पार्टी कार्यालयमा बैठक बसेको र सबै प्रक्रिया शुरु गरेर साँझदेखि पदाधिकारीतर्फको गणना शुरु गरिएको हो । आज उपसभापतिको मात्र मतगणना हुन्छ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुनेछ उनले भने ।
पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी साह उम्मेदवार छन् । त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।